सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कर्मचारी संगठन भंग गरिएको छ ।
नेकपा एमाले निकट उक्त संगठनको प्रारम्भिक कार्य समितिका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले आज सूचना जारी गर्दै संगठनको कार्य समिति भंग गरिएको उल्लेख गरेका हुन् ।
परियोजनाले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको सयबुँदे शासकीय सुधारसम्बन्धी कार्यसूचीमध्ये खण्ड ‘ख’ अन्तर्गत उल्लिखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता शीर्षकको बुँदा नं १२ मा उल्लेख भएबमोजिम दलगत ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरिएको थियो । नेपाल सरकारको मन्त्रिपरिषद्ले शासकीय सुधारअन्तर्गत राजनीतिक ट्रेड युनियनहरू भंग गर्ने निर्णय गरेपछि समितिको बैठकले उक्त निर्णयको स्वागत गर्दै चैत्र १६ गतेदेखि लागु हुने गरी समिति भंग गरेको जनाएको हो ।
नयाँ बनेको सरकारले गरेको निर्णय बमोजिम कर्मचारी संगठन भंग गरिएको बताइएको छ । समितिका सचिव युवराज कार्की र कार्यवाहक अध्यक्ष प्रदीप अर्यालले हस्ताक्षर गरेको सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ ।






