सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ९मा झन्डै दुई सय बर्ष पुरानो दनुवार बस्ती छ । दनुवार जातिको बसोबास भएकै कारण दनुवारी गाउँ उपनाम पाएको यो बस्ती निक्कै आकर्षक अनि रमाइलो पनि छ ।
नेपालको इतिहास र यहाँका जातिहरूको विकासक्रम निकै गौरवशाली र विविधतापूर्ण छ । हरिवन नगरपालिकाको दनुवारी टोलमा बसोबास गर्ने अधिकांश दनुवार भने कछडीया दनुवारमा पर्छन् । कछडीया द्नुवारहरु हिन्दु धर्म मान्छन् भने दनुवार जातिको आफ्नो कुनै धर्म नहुने उनिहरु बरम बाबालाई इस्ट देव मानेर पुजा गर्ने गर्छन् ।
अक्सर धर्ती पुत्र दनुवार जातिको बसोबास भने नदि किनारमा हुने गर्छ । सोझा अनि मिजासिला दनुवार जातिहरु कर्म र मेहनतको कसिमा आफूलाई उभ्याउँदै जीवन यापन गर्ने गर्छन् ।
दनुवार जातिका विद्वान लगना दनुवार भन्छन् :- पछिल्ला दिनहरुमा दनुवार जातिको भाषा संकटमा छ भने भाषा जोगाउन हम्मे हम्मे परेको छ । कछडीया द्नुवारहरुले त, थर नै फेर्न थालिसकेको पाइयो जसको कारणले सिंगो दनुवार जाति नै अप्ठ्यारोमा परेको छ ।
दनुवार भाषा संस्कृती बारेमा जानकार हरिवन नगरपालिकाका स्थानीय रामशरण उप्रेती भन्छन् दनुवार मुलतः तीन किसिमका हुन्छन् एकथरी दनुवारले आफुलाई जनै दनुवार अथवा क्षेत्रीय भन्छन् । त्यस्तै चुरेको फेदिमा कछडिया दनुवार बस्छन् भने
रैया दनुवार चुरे उत्तर भित्री भाग महाभारत क्षेत्रमा बसोबास गर्ने गर्छन् ।
नाच गानलाई खुबै रुचाउने दनुवारहरुका लोग्ने जातिले ठाडो धोती लगाउने गर्छन् । दनुवार जातिमा पहिला-पहिला डि सर्ने अर्थात (बसाइ सर्ने) चलन थियो । दनुवार जातिका अगुवाहरुले गाउँमा रोग ब्याध लाग्यो भने नयाँ र फरक ठाउँमा बसाई सर्ने र उक्त स्थानमा झन्डा गाड्ने गर्दथे ।
दनुवार जातिमा एउटा अनौठो तर रोचक तथ्य पनि लुकेको पाइन्छ, घरमा आगो लाग्दा पनि हलो जुवा र जाल (खौंकी) बोकेर खोला किनार माछ मार्न पुग्ने गर्थे । पुरानो र जीवन्त पेशा माछा मार्नु दनुवार जातिको सस्कृति भित्र लुकेको सुन्दर पहिचान हो ।
बिबाहमा पहिला-पहिला केटी किन्नु पर्दथ्यो, केटी माग्न जानेले लागेको खर्च दिनु पर्ने अर्थात बिबाह खर्च (करिन) दिनु पर्दथ्यो । करिनमा धान, मकै गहुँ दिनु पर्दथ्यो जसमा १२ मन धान ६ सय रुपैया बुझाउँने चलन थियो ।

दनुवार जातिको कुनै आफ्नो पुरोहित हुदैन उनिहरु
पुरोहितका रुपमा झा बाहुनलाई पुज्ने गर्छन् । दनुवार जातिले न्वारनको नाम गाउँलेहरुले बार र जन्मेको आधारमा राख्ने गर्छन् जस्तै बुधना, मंगले, बिरिया …. आदि । दनुवारहरु धर्तीपुत्र हुन् । उनिहरुको मुख्य पेशा माछा मार्नु हो भने खेती लगायतका काममा उनीहरुको निपुर्णता देखिन्छ ।

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रको विकासक्रममा पनि दनुवारहरूको श्रम र सीपको योगदान रहेको पाइन्छ । दनुवार जाति स्वभावले अत्यन्तै सोझा, इमान्दार र मिहिनेती देखिन्छन्।
सरकारको दनुवार जातिलाई ‘सीमान्तकृत समूह’ मा वर्गीकृत गरेको छ। दनुवार जातिको भाषा, सँस्कृति र मौलिक परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।




