सर्लाही । आज भन्दा १०/१५ बर्ष अगाडिसम्म हरिवन नगरका उत्तरी क्षेत्रमा मुस्किलले एक /दुइ बाली मकै र धान उत्पादन हुने गर्दथ्यो । किसानले दु:खले लगाएको अन्न बालीले छ महिना पनि पुर्याउन धौ-धौ हुन्थ्यो । त्यसमा चैत र बैशाखको चर्को घामले दु:खले लगाएको अन्न बाली सुकाइ दिन्थ्यो, किसानहरुको उन्नत फसलको सपना चर्को घामसंँगै तुहिन्थ्यो ।
तर उबेला प्राय गरेर कुर्थी, गहुँ, जौ, फापर, कन्दमुल तथा एक छिमल मकै मात्रै उत्पादन हुने स्थान र खेत बारीहरुमा अहिले बार्है मास अनाज उत्पादन हुने गर्छ ।
पछिल्ला समयमा जब हरिवन नगरपालिकाले अनुदानमा समरसेल,कल तथा अन्य सिंँचाइको व्यबस्था किसानको घर-घरमा पुर्यायो त्यतिबेला सुख्खा खेतबारीमा पनि सिंचाइ, कुलो तथा पैनीको पानी कल-कल बग्न थल्यो,-तब किसानका सपना बौरीन थाले हरिया खेतबारीहरुमा साग सब्जी तथा अन्य बाली झुल्न थाले सँगै अब भने यो क्षेत्रमा दुई बाली अन्न फल्न थाल्यो ।
हरिवन नगरपालिका वडा नम्बर -८,का किसान हरि निरौला भन्छन् “सिंचाइको पर्याप्तताले हामी किसानलाई सहज बनाइ दिएको छ । बस्तुभाउ पाल्न तथा सबै खाले अन्न बाली लगाउन सजिलो भएको छ । चैत्र बैशाखमा मकै पाक्छ भने धान पाक्ने र रोप्ने चटारो पनि किसानलाई उत्तिकै हुने गरेको छ-” जुन पानीको सहजताले भएको हो ।
यतिबेला हरिवन, बागमती , लालबन्दी, तथा इश्वरपुर नगरपालिकाका उत्तरी स्थानका धेरै ठाउँमा मकै लह-लह छन् भने धान, तथा अन्य नगदेबाली काउली, भान्टा, साग, लट्टे, घिरौला, लौका, फर्सी तथा करेला लगायतका बाली प्रसस्त हुन थालेका छन् ।
हरिवन नगरपालिकाका कृषि शाखा प्रमुख बिष्णु गुरागाइ भन्छन् “पछिल्ला बर्षहरुमा नगरपालिका स्तर बाट कृषिमा अनुदान तथा बीउ बिजन, सिंँचाइ लगायतका सेवा सुबिधा दिन थालेसंँगै कृषि प्रति किसानको अवधारणामा फरक आएको छ । गाउँ गाउँमा पशुपालन, तरकारी खेती, धान/मकै बाली लगायतमा किसानको आकर्षण बढेको अधिकृत गुरागाइ बताउँछन् ।
कृषि पेशालाइ मर्यादित र प्रभावकारी बनाउन नगरपालिका स्त्तरबाट राम्रो सहयोग गरिएको र आगामी दिनलाई लक्षित गरि किसान मैत्री योजना ल्याउने तयारी भएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) बताउँछन् ।
किसानले उत्पादन गरेको अन्न बालीबाट हाम्रो जीवन बाँच्ने भएको हुँदा किसान प्रतिको माया र सम्मानलाई सर्बोपरी ठान्नु पर्ने प्रमुख बुढाथोकी बताउँछन् ।
हालका दिनमा किसानलाई सहज होस् भनी हाते ट्याक्टर, सानासाना कृषि औजार, घाँस काट्ने मेसिन, आँप झार्ने औजार लगायतका धेरै औजार उपकरण बाँडिएको प्रमुख बुढाथोकीको भनाइ छ ।




