सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाले नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकसँग रहेको वारुणयन्त्र (दमकल) संचालनका लागि साझेदारी गरेको छ ।
मधेश प्रदेश सरकारले गत वर्ष नेपाली सेनालाई एउटा वारुणयन्त्र प्रदान गरेको थियो । सो वारुणयन्त्र लालबन्दि २ स्थीत पाँचकुमारी ब्यारेकमा राखेर यस क्षेत्रमा आगलागी हुँदा परिचालन गर्ने गरिएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिको निर्णय बमोजिम ईश्वरपुर नगरपालिकाको प्रमुख मनोजकुमार आचार्य र कालिध्वज गणका गणपति एवं प्रमुख सेनानी उमेश खड्काले बयलवासस्थित नगरपालिका कार्यालय परिसरमा वारुणयन्त्र सञ्चालनका लागि साझेदारी गरिएको औपचारिक घोषणा गरेका छन् ।
नगरपालिकाको वारुणयन्त्रमा आवश्यक पर्ने इन्धन तथा मर्मत सम्भारका लागि ईश्वरपुर नगरपालिकाले सहयोग गर्ने छ । यसअघि हरिवन नगरपालिकासँग पनि वारुणयन्त्र संचालन गर्न ईश्वरपुर नगरपालिकाले साझेदारी गरेपनि सो दमकल जेनजी आन्दोलनमा जलाइएपछि थन्किएको छ र अहिले सम्म पनि संचालनमा आयको छैन ।
चैत २३ गते बसेको जिल्ला विपत् व्यवस्थापन समिति सर्लाहीको बैठकले नेपाली सेनाको ब्यारेकमा नै रहने गरी कालिध्वज गण र ईश्वरपुर नगरपालिकाले आपसी समन्वय र सहकार्यमा वारुणयन्त्र सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । अन्य पालिकालाई आवश्यक परेको खण्डमा ईश्वरपुर नगरपालिकासँग समन्वय गरी बजेट साझेदारीमार्फत सञ्चालन एवं प्रयोगमा ल्याउने उक्त निर्णयमा उल्लेख गरिएको ईश्वरपुर नगरपालिकाको प्रमुख मनोजकुमार आचार्यले बताए । 




