सर्लाही । हरिवन नगरपालिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि विभिन्न स्वच्छ ऊर्जा प्रविधिहरू सफलतापूर्वक वितरण तथा जडान गरिएको छ ।
हरिवन नगरपालिकाको सहकार्यमा Alternative Energy Promotion Centre (AEPC) सँगको लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत- १७०० वटा विद्युतीय चुलो-१००, वटा सुधारिएको चुलो वितरण गरिएको छ भने १२ वटा बायोग्याँस प्लान्ट जडान कार्य सम्पन्न भएको बताइएको छ ।
यी प्रविधिहरूले परम्परागत इन्धनको प्रयोग घटाई वातावरण संरक्षण, घरभित्रको धुवाँजन्य स्वास्थ्य समस्यामा कमी तथा स्वच्छ ऊर्जा प्रयोगमा टेवा पुर्याउने अपेक्षा गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) भनाइ छ ।
बुढाथोकी भन्छन् “हरिवन नगरपालिकालाई मधेश प्रदेशकै नमुना नगरपालिका बनाउने लक्ष्यसहित हामीले स्वच्छ ऊर्जा कार्यक्रमलाई प्राथमिकता दिएका छौं।
AEPC सँगको सहकार्यले नागरिकलाई आधुनिक र सुरक्षित ऊर्जा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको छ। आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।”
AEPC का ऊर्जा शाखाका कर्मचारी रमेश ढुंगानाका अनुसार -हरिवन नगरपालिकासँगको सहकार्यलाई उदाहरणीय बनाउँदै लैजाने अभियान अन्तर्गत हरिवन नगरपालिकालाई मधेश प्रदेशमै स्वच्छ ऊर्जा प्रवर्द्धनको नमुना बनाउने लक्ष प्रारम्भ भएको छ ।

हरिवन नगरपालिकाको स्वच्छ ऊर्जा प्रवर्द्धन कार्यक्रम बाट नगरपालिकाका विभिन्न वडाका घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका ढुंगानाले बताए ।




