सर्लाही । सर्लाहीमा निजी विद्यालयको शुल्कसम्बन्धी छलफलका लागि बोलाएर धनकौल गाउँपालिका–५, हरकठवाका फेकु दासलाई प्रहरीले आफ्नै कार्यालयमा थुनेर निर्घात कुटपिट गरेका छन ।
स्थानीय साइनिङ स्टार एकेडेमी बोर्डिङ स्कुलमा दासका दुई छोरा अध्ययनरत थिए । दासले दुवै छोरालाई अर्को विद्यालयमा भर्ना गरेपछि विद्यालय प्रशासनले १३ हजार ६ सय रुपैयाँ शुल्क नतिरेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा निवेदन दिएका थिए ।
विद्यालय प्रशासनको निवेदनमाथि आवश्यक सोधपुछ तथा छलफलका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो । पीडित दास आफ्नी श्रीमतीसहित बुधबार दिउँसो इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए ।
हरकठवा प्रहरी कार्यालयमा पुगेका दासलाई प्रहरीले कागजातमा हस्ताक्षर गर्न आग्रह गरेको थियो । तर आफूले विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको दाबी गर्दै दास दम्पतीले हस्ताक्षर गर्न अस्वीकार गरे । त्यसलगत्तै सोही प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रामजीवन पासवानले दासलाई कार्यालयको थुनुवा कक्षमा लगेर बाँसको भाटा र बुटले मरणासन्न हुने गरी कुटपिट गरेको पीडितका दाजु इन्दल दासले आरोप लगायका छन ।
प्रहरीको कुटपिटबाट दासको बायाँ हात, तिघ्रा तथा पिठ्युँमा गम्भीर चोट लागेको छ । घटना लगतै तत्काल बरहथवास्थित हनुमन्त अस्पताल लगिएको भए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाइएको पीडितका दाजु इन्दल दासले बताए ।
घटनाबारे प्रतिक्रिया लिन दिँदै इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गोपी कृष्ण सूबेदि सङ्ग बूझ्दा कार्यालयभित्र दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गरे । उनले सोही विवादका क्रममा कुटपिटको घटना भएको समेत बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले घटनाबारे जानकारी भएको बताउँदै प्रारम्भिक विवरणअनुसार दासले प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न हुँदा प्रहरीले बल प्रयोग गरेको बताए । उनले घटनामा संलग्न प्रहरी जवान पासवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यता बोर्डिङ स्कुलका सञ्चालक संजय साहले दाससँग पटक–पटक विद्यालयको शुल्क माग्दा पनि नदिएपछि जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको बताए ।





