नवलपुर । नवलपुरका युवा व्यवसायी एवं समाजसेवी राजु सदा शंकरले आफ्नो घरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई एक महिनाको घरभाडा छुट गरेका छन् ।कोरोना भाइरसको संक्रमण फैलने त्रास बढिरहेका बेला कावासाेती नगरपालिका ८ मा सञ्चालन रहेकाे आईएमई सेन्टर तथा आईएमई पेलाई युवा व्यवसायी राजुले चैत महिनाकाे घर भाडा मिनाहा गरेका हुन् ।
कोरोनाको सन्त्रासले विश्व नै आतंकित भइरहेको बेला ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएको भन्दै युवा व्यवसायी राजुले सहयोग स्वरूप भाडा मिनाहा गरेका हुन् । चैत महिनाकाे घर भाडा बापतकाे रकम ४५ हजार रूपैयाँ उनले मिनाहा गरेका आईएमई सेन्टर तथा आईएमई पेकी संञ्चालक सृजना भट्टराईले बताइन् । लकडाउनले गर्दा व्यवसाय बन्द भएको अवस्थामा घरबेटीले मानवीय नाताले गरेको सहयोगले आफुहरु खुसी भएको भन्दै अन्य घरबेटीले पनि व्यवसायीको पिर मर्कालाई बुझेर सहयोग गरेमा विपत् व्यवस्थापनमा साच्चिकै राहत हुने अर्का संञ्चालक अमित भण्डारीले बताए ।
युवा व्यवसायी एवं समाजसेवी राजुले यस अघि पनि लकडाउनमा बिभिन्न ठाउँमा गएर राहत र अन्य विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा सहयोग गरिसकेका छन् । घरभाडा मिनाहा गरेसंँगै सामाजिक सञ्जालमा उनको प्रशंसा गर्नेको ओइरो लागेको छ ।




