प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा सञ्चालन गरिएको उपमेयर प्रजनन तथा बृहत् घुम्ती स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
गत मंसिर १८ गते हरिवन नगरपालिका वडा नम्बर १ बाट सुरु गरिएको घुम्ती स्वास्थ्य शिविर पौष १ गते वडा नम्बर ११ बालगंगा स्थित आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन भई सम्पन्न गरिएको हो।
वडा नम्बर ११ मा आयोजित अन्तिम शिविरमा ३५ जना महिला दिदीबहिनीहरूले पाठेघरको क्यान्सर परीक्षणसहित महिला प्रजननसम्बन्धी विभिन्न रोगको स्वास्थ्य परीक्षण गराएका थिए। शिविर हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शेख मेहबुब रेजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमकी फोकल पर्सन तथा नर्सिङ निरीक्षक लक्ष्मी आचार्यका अनुसार दुई हप्तासम्म नगरपालिका अन्तर्गतका सबै ११ वटै वडामा सञ्चालन गरिएको उक्त शिविरबाट कुल १ हजार ९ सय ५१ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। तीमध्ये सबैभन्दा बढी हरिवन नगरपालिका वडा नम्बर ३ बाट २ सय ८५ जना सेवाग्राहीले शिविरबाट सेवा लिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
शिविर अवधिभर गरिएको स्वास्थ्य परीक्षणमध्ये ४ सय ३९ जनामा पाठेघरको मुखमा हुने रोग तथा आङ खस्ने समस्या, ४ सय ३० जनामा पिसाब थैली तल झर्ने समस्या, २३ जनामा पाठेघर तल झर्ने समस्या, १० जनामा पाठेघरको मुखमा मासु पलाएको समस्या देखिएको छ। साथै ४ सय ३३ जनाको फिस्टुला स्क्रिनिङ्ग गरिएको र केही सेवाग्राहीमा क्यान्सरसँग सम्बन्धित लक्षणहरू समेत देखिएको नर्सिङ निरीक्षक आचार्यले जानकारी दिनुभयो।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. रुपेश कुमार यादव, तालिमप्राप्त नर्स अर्चना पण्डित, रबिना तामाङ, प्रमिला खडका लगायत स्वास्थ्यकर्मीहरूको टोलीले महिलाको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेका थिए।

शिविर सफल बनाउन सहयोग पुर्याउने स्वास्थ्य चौकी तथा अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, पत्रकार तथा सरोकारवाला सबैप्रति हरिवन नगरपालिका स्वास्थ्य शाखाले धन्यवाद ज्ञापन गरेको छ।

यस प्रकारका घुम्ती स्वास्थ्य शिविरले महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको स्वास्थ्य शाखाले जनाएको छ। शिविरमा विशेष गरी ३० देखि ४९ वर्ष उमेर समूहका महिला तथा किशोरीहरूलाई लक्षित प्रजनन स्वास्थ्य परीक्षण, पाठेघरसम्बन्धी क्यान्सरको प्रारम्भिक अवस्था पहिचान, भाइरस नाश गर्ने प्रक्रिया, परिवार नियोजनसम्बन्धी परामर्श तथा आवश्यक उपचार सेवाहरू प्रदान गरिएको थियो।




