प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा डेंगु तथा कीटजन्य रोगको नियन्त्रण र रोकथामका लागि टोल–टोलमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा अभियान सञ्चालन गरिएको हो।
गत मंसिर २६ गते हरिवन चोकबाट सुरु गरिएको उक्त सचेतना कार्यक्रममा डेंगु सार्ने लामखुट्टे बस्ने सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्ने, पानी जम्ने खाल्टा–खुल्टी पुर्ने तथा प्रयोगविहीन टायर, ड्रम, गमला जस्ता सामग्री व्यवस्थापन गर्ने काम भइरहेको छ। साथै डेंगु तथा कीटजन्य रोग कसरी सर्छ, कसरी बच्ने भन्ने विषयमा सडक नाटक प्रस्तुत गर्दै जनचेतना फैलाइँदै आएको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो।
यसैबीच बुधबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा डेंगु लामखुट्टे बस्ने स्थानको खोजी, लार्भा नष्ट गर्ने तथा स्थानीयलाई सचेत बनाउने काम गरिएको सह–संयोजक सुरेश यादवले बताउनुभयो। उहाँका अनुसार हरिवन नगरपालिका वडा नम्बर ४ अन्तर्गत गणेश चोक, गैरीगाउँ, तिनघरे चोक तथा वडा नम्बर २ को पाकडगाछी क्षेत्र आसपास सचेतना र लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो।
स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा १ हजार ३ सय भन्दा बढी, २०८०/८१ मा ३ सय २१ जनामा डेंगु संक्रमण देखिएको थियो। तर पछिल्ला तीन वर्षदेखि निरन्तर स्प्रे, सरसफाइ तथा सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएकाले यस वर्ष हालसम्म २९ जनामा मात्र डेंगु संक्रमण पुष्टि भएको छ।
नेपाल सरकारले सन् २०३० सम्म डेंगु तथा कीटजन्य रोग उन्मूलन गर्ने नीति लिएको सन्दर्भमा देशभर नियन्त्रणका प्रयास तीव्र पारिएको स्वास्थ्य शाखाले जनाएको छ।

डेंगु रोग एडिस एजिप्टी (Aedes aegypti) नामक पोथी जातको लामखुट्टे को टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टे विशेषगरी बिहान र दिउँसो सक्रिय हुने भएकाले सो समयमा विशेष सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

डेंगु रोग लागेमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुखाइ, शरीर तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिने गर्दछ। यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन, जथाभावी औषधि सेवन नगर्न र प्रशस्त तरल पदार्थ सेवन गर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन ।




