हरिवन, सर्लाही । सर्लाहीको हरिवनमा बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत ५ दिने सडक नाटक प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ।
तालिम हरिवन मा रहेको बागमती सेवा समाज को आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिम शनिवार देखि हरिवनमा सुरु गरिएको हो।
किशोर–किशोरीहरुलाई अभिनय कला, सडक नाटक लेखन तथा प्रस्तुतिकरण सम्बन्धी क्षमता अभिवृद्धि गरी समुदायमा जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका २४ जना किशोर–किशोरीहरुको सहभागिता रहेको छ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै बागमती सेवा समाज नेपालकी अध्यक्ष प्रबिन भण्डारी ले बालबालिकालाई अभिनय तथा प्रस्फुटन कलामार्फत सशक्त बनाउने प्रयास अत्यन्त सकारात्मक रहेको बताउनुभयो।
उहाँले बाल विवाह, लैंगिक हिंसा, दाइजो प्रथा लगायत समुदायमा रहेका हानिकारक सामाजिक अभ्यास न्यूनीकरण गर्न सडक नाटक प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो।
संस्थाका कार्यक्रम विभाग प्रमुख भरत कुमार कार्की ले संस्थाले लामो समयदेखि बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा काम गर्दै आएको बताउँदै यस्ता तालिमले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
तालिमको सहजिकरण कलाकार मिथुन ठाकुर ले गरिरहेका छन ।
पाँच दिन सम्म चल्ने तालिमको बुधबार समापन गरिने बताईएको छ ।

तालिम सम्पन्न भएपछि सहभागीहरुले आफ्ना समुदायमा सडक नाटक प्रदर्शन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्ने आयोजक संस्था बागमती सेवा समाज ले जनाएको छ।




