हरिवन, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–८ मा टोल विकास संस्थाको सक्रियतासँगै बस्तीस्तरको योजना तर्जुमा प्रक्रियामा उल्लेखनीय परिवर्तन देखिएको छ। पहिले सीमित व्यक्तिहरूको सहभागितामा योजना निर्माण हुने अभ्यासलाई विस्थापित गर्दै अहिले नागरिक स्वयंले आफ्नो गाउँ–टोलको आवश्यकता पहिचान गरी सामूहिक रूपमा योजना छनोट र प्राथमिकीकरण गर्न थालेका छन्।
हरिवन–८ स्थित कौवा गाउँमा बिहीबार आयोजित बस्ती भेला तथा योजना छनोट कार्यक्रममा कौवा टोल विकास संस्था, चापिनी टोल विकास संस्था र आपडाँडा टोल विकास संस्था का पदाधिकारी, सदस्य, बुद्धिजीवी, भद्रभलाद्मी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो बस्तीका आवश्यकता, समस्या तथा सम्भावित विकास योजनाहरूको पहिचान गर्दै प्राथमिकताका आधारमा योजना छनोट गरी वडा कार्यालयलाई बुझाएका छन्।
बस्ती भेला बाट सामुहिक रुपमा पहिलो प्राथमिकता मा सुन्दर नगर हाम्रो नगर बनाउन फोहर मैला ब्यबस्थापन त्यस्तै सिचाई ,कृषि उन्नत जातका बीउ बिजन मलखाद दोस्रो प्राथमिकिकरण मा र सडक नल ढल स्तरोन्नति मा लाई तेस्रो प्राथमिकता मा राख्दै सामुहिक रुपमा एकसाथ योजना बुझाएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष प्रज्वल ढुङ्गाना ले स्थानीय तहको विकास योजना निर्माण प्रक्रियामा बस्तीस्तरको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा वडाका अन्य बस्तीहरूमा पनि टोल विकास संस्थाको अगुवाइमा योजना छनोट कार्यलाई थप प्रभावकारी बनाइने जानकारी दिए।
झण्डै दुई वर्षअघि बागमती सेवा समाज नेपाल ले गठन गरेका टोल विकास संस्थाका पदाधिकारीहरूलाई समय–समयमा क्षमता अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी विभिन्न तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेपछि समुदायमा सकारात्मक परिवर्तन आएको देखिएको छ। संस्थामार्फत प्राप्त ज्ञान र सीपका कारण स्थानीयवासीहरू अहिले आफ्नै बस्तीको विकासका लागि आवश्यक योजना आफैं निर्माण गर्न सक्षम बनेका छन्।

कार्यक्रममा सहभागी आपडाँडा टोल विकास संस्था की अध्यक्ष यशोदा भट्टराई ले पहिले योजना कसरी बन्छ, किन बनाइन्छ भन्ने विषयमा जानकारी नहुने गरेको स्मरण गर्दै अहिले सबै समुदायका सदस्य एकै ठाउँमा बसेर आफ्नै बस्तीको योजना बनाउन पाउँदा गर्व महसुस भएको बताइन्। उनले हाम्रो शहर परियोजनाअन्तर्गत प्राप्त तालिम तथा सिकाइले समुदायमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरिन्।
त्यस्तै चापिनी टोल विकास संस्था की अध्यक्ष शशिकला खतिवडा खनाल ले समस्या पहिचान र प्राथमिकीकरण प्रक्रियामा सबैको समान सहभागिता सुनिश्चित हुँदा विवादको सम्भावना कम हुने र सामूहिक स्वामित्वको भावना विकास हुने बताइन्। सहभागीहरूले टीका विधिबाट प्राथमिकता निर्धारण गर्दा सबैको मतलाई समान महत्व प्राप्त भएको अनुभव सुनाएका थिए।

बागमती सेवा समाज नेपालको हाम्रो शहर परियोजना अन्तर्गत कार्यक्रम संयोजक रजनीश कुमार सिंह, समाज रूपान्तरण सहजकर्ता विद्या पौडेल तथा पुनम भट्टराई लगायतले बस्तीस्तरको योजना छनोट प्रक्रियामा प्राविधिक सहजीकरण गरेका थिए।
उक्त परियोजना काठमाडौँ विश्वविद्यालय को प्राविधिक सहयोग तथा हेल्भेटास नेपाल को आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको छ।
नेपाल सरकारको योजना तर्जुमा सम्बन्धी व्यवस्थाअनुसार स्थानीय विकास योजनाहरू निर्माण गर्दा बस्तीस्तरबाट योजना संकलन गरी क्रमशः वडा, नगर तथा सम्बन्धित निकायसम्म पुर्याउने व्यवस्था रहेको छ। सोही प्रक्रियालाई प्रभावकारी बनाउन टोल विकास संस्थाहरूले स्थानीय नागरिकलाई प्रत्यक्ष रूपमा योजना निर्माण प्रक्रियामा सहभागी गराउँदै आएका छन्।

यसअघि बुधबार पनि हरिवन नगरपालिका–११ का छ वटा टोल विकास संस्थाका प्रतिनिधिहरूले सामूहिक रूपमा भेला भई बस्तीस्तरका विकास योजनाहरू छनोट गरेका थिए। स्थानीय तहको योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता बढ्दै जाँदा समुदायमा स्वामित्व, पारदर्शिता र उत्तरदायित्वसमेत सुदृढ हुँदै गएको स्थानीयवासीहरूको विश्वास रहेको छ।




