काठमाडाैं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६ औ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।
पिता कृष्णप्रसाद कोइराला र माता दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रहे । कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने कार्यको अगुवाइ गरे भने २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरे ।
बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर (के.बी.) गुरुङले कांग्रेसले सत्तामा हुँदा बी.पी. लाई बिर्सने गरेको र सत्ताभन्दा बाहिर रहँदा उहाँको तस्बिरमा फूलमाला चढाउने कार्य मात्रै गरेको बताउछन् । बीपी नेतृत्वको सरकारले २०१६ सालमा बिर्ता प्रथा खारेज तथा राज्य रजौटा उन्मूलन गरेको थियो ।




