चितवन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले राजीनामा दिएका छन् । डा. पाण्डेले बुधवार स्वास्थ्य मन्त्रालयलाई राजीनामा पत्र दिएका हुन् ।
उनले अस्पतालमा मेसुको रूपमा २ महिना सेवा गरेका छन् । गत भदौं २४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. पाण्डेलाई नियुक्त गरेको थियाे । उनी भदौको २८ गतेदेखि अस्पतालमा हाजिर भएका थिए । भरतपुर नै घर भएका एघारौं तहका फिजिसियन डा. पाण्डे त्यसअघि भेरी अस्पताल नेपालगन्जको मेडिसिन विभागका विभागीय प्रमुख थिए ।
उनले ब्यवस्थापनको पाटोमा भन्दा पनि आफू विरामीको उपचारमा नै लाग्ने प्रतिक्रिया दिएका छन् । अहिले डा. जगन्नाथ तिवारीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिएको छ । डा. पाण्डे भने राजीनामा दिएर बिहीवारदेखि केही दिनका लागि बिदामा बसेका छन् । उनी अस्पतालका ४१ औं मेसु हुन् ।




