पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥
बा शब्दमा एक भएपनि मेरा लागि सर्बस्व हुनुहुन्छ
आज मेरा बा हुनुहुन्छ र त म छु ।
यो दुनियामा हर चिज बदलिन्छन् तर मेरा बा अहँ कदापि,
मेरा लागि मेरा बाले के गर्नु भो ?भन्दापनि , मेरा लागि के गर्नु भएन ??
मैले बाले मेरा लागि नगरेको कुनै क्षण भेट्दिन,
अझै पनि मेरा बा मेरै लागि चिन्ता लिनुहुन्छ,
मेरै लागि सोच्नु हुन्छ , एक दिको कुरा ,
जब म बिहानै बाको निद्रा नखुल्दै अफिस लागे अनि बेलुका बा मस्त निद्रामा पुगेपछि घर फर्किए ,
अनि फेरि बिहानै गए
यस्तै क्रम ४/५ दिन भयो अनि एक दिन केही बेलैमा घर फर्किदा
“अरु त ठिकै छ माइला सबैका एउटाका दुइटा अनि दुईटा”का तिनटा भए आ आफ्नो गरि खान्छन ,
एउटा यसैको पिर हो । यस्को पनि एकतिर टुङ्गो लाइदिन सके आनन्दै हुन्थ्यो माइला !”
भन्दै बाल्कोनिमा मा बसेर बाले पुछारे माइला काका सँग गुनासो गर्दै हुनुहुन्थ्यो ।
काकाले हैन दाजै गरि खान्छ टाठो छ केटो भन्नुभो ।
अनि बाले” खै माइला क्या हो ?क्या हो ?”
भन्दै मेरा बा र काकाले कुरा गरेको मेरो कानमा पर्यो ।
सरासर कोठामा छिरे त्यसपछि सम्झिए
मेरै लागि मेरा बाले मरिमेट्दा ती चिराचिरा परेर फुटेका खुट्टा,
ढाडमा कहिल्यै नटुटेको खुरपेटो र खुर्पा,
यसैले खाला र निरोगि होला भनेर गोठमा बाँधेका गाई र भैसि;
यिनै बेचेर पैसा पार्दिन सके पढ्ला र भोलि सुख सँग बाच्ला भनेर पालेका बाख्रा ,
भोलि गरि खान नपुग्ला भनेर खोर्सिएका बारिका टुप्पा,
अनि पढोस अनि केही गरोस भनेर लगाएका अर्थि र उपदेस अनि सबै ।
अनि आफ्नै सन्तानका लागि भनदै बितेका मेरा बाका सात दशक बर्ष,
कुनै दिन आफ्नो लागि सोच्नै समय भएन ,
बाले च्यातिएको आस्कोट लगाएर मलाइ नयाँ कमिज सिलाइदिनु भो ,
आफुले दुई तिरै भ्वाङ परेको कछाड नफेरि मलाइ जाङ्गे र सुरुवाल सिलाइदिनु भो ।
आफुले मरि मरि मलाइ पढाउनु भो बढाउनु भो र मलाइ सवा मुरि उमेर मा टेकाउनु भो ।
अझै पनि अब केही गर्न पर्छ है कान्छा भन्दै ढाडस दिरहनु हुन्छ ।
कतै निस्किन हतार गरे भन्नुहुन्छ, हतार किन ? धैर्य गर ‘हतार मा गए खै के खै के धैर्य गरे अवश्य’ ।
अनि मेरो हतार हराउछ र सजिलै गन्तव्य फेला पर्छ ।
कहिले काही यो काममा बालाइ थाहा छैन, म आफैलाई थाहा छ ! भनेर बालाइ नभनि दौडिन्छु ,
अनि काम बन्दैन , अलपत्र पर्छु , र घर फर्किन्छु ,अनि बालाइ सुनाउछु , बाले एकै शब्दमा समस्या समाधानको बाटो दिनुहुन्छ र त्यहि बाटोले मलाई क्षण भर मै सफलता दिन्छ।
जब मैले मेरा बााको त्यो अनौठो र अद्भुद क्षमता देख्छु , अनि मलाई मेरा बा मा इश्वरको भन्दा बढी शक्ति लाग्छ ,
त्यसैले त मैले मेरा बा ! बा मात्र नभै मेरा भगवान पनि ठान्छु ।
कतै टाढै निस्किन थाले ,पर्खि है ! भन्दै खल्तिको कुनाबाट गुटुमुटु परेको पुरानो नोट निकालेर हातमा थमाइदिनुहुन्छ ।
म भने खुसि हुँदै आफ्नो जिम्मेवारी नै भुलेर सात दशक पार गरेका बाको हातबाट पैसा च्याप्प समातेर खल्तिमा राख्न हतार हुन्छु ।
तर मैले अझै सम्म बा सँग हरकुराको मुहान छ भन्ने सम्झिरहेछु ।
” यतिकैमा मनमा अनेक कुराहरु खेल्दा खेल्दै झसङ्ग हुन्छु
र मैले आफैलाई प्रश्न गर्छु ,
तलाइ तेरा बाले यहाँसम्म ल्याए र सर्वस्व जीवन नै तेरै लागि खर्चिए अझै तेरै लागि मरिमेट्दै छन्
भने तैले बाको लागि के गरिस?
मसँग यस्को उत्तर छैन, आज आफ्नो प्रश्न सँग आफै नतमस्तक छु, नाजावाफ छु, लज्जित छु
बा ! मैले कुन मुखले माफि माँगौ ?
बा ! अब मलाइ मात्र एक असल छोराको कर्तब्य र दायित्व पूरा गर्न सकुँ, त्यो मुहारको मुस्कान नखोसुँ ,मलाइ यत्ति आशिर्बाद दिनुस ! ! !




