गलिसकेँ म यी मध्यरातमा मेरा अनि निद्राका
बीच गुन्जिने दर्दनाक आवाजहरूबाट ।
यो तड्पाहट, रोदन, तँछाड–मछाडको यात्राहरूबाट,
हुनेखानेहरूको र हुँदाखानेहरू दुवैको पीडाहरूबाट ।
जातभात, धर्म भन्दै अलग्गिएका दाइभाइको रिनबाट
अनि आज मान्छेबाट मान्छे टाढिनु पर्ने चलनबाट ।
निद्रामा मीठो सपना नबुनेको सायद वर्षौं भएछ ।
एक पटक फेरि निद्रादेवीको काखमा लडिबुडी गर्ने मन छ ।
निद्रा पूरा भएर अब यस्तो ठाउँमा उठ्ने मन छ ।
जहाँ मैले फेरिरहने स्वासको आवाजले
अरूको कानका जाली चिरा नपरोस्…
मेरा स्वास कसैका लागि श्राप नबनोस…
ती दर्दनाक रुवाइहरू जिन्दगीको सुर तिखार्न
गरिएको रियाजमा परिणत होस् …
ती हराइरहेका मान्छे अनि तिन्का सपनाहरूको
जोडी परेवाजस्तै गरी प्रेम मिलन होस् …
हामीलाई कमजोर बनाउन लागि पर्ने रोगहरूको
बिछोड्को कथा गुन्जियोस् तिन्कै गीतमा नाँच्न पाइयोस् …
हो यस्तो ठाउँमा उठ्ने मन छ …
एक पटक अवस्य निदाउनु छ छिट्टै
अनि हेर्नु छ बिउँझिएपछिको त्यो संसार …
त्यसैले एक पटक निदाएर उठ्ने मन छ ….
देखेका सपना पूरा गर्न जुट्ने मन छ …
एक पटक उठ्ने मन छ ।
#मुन्छे




