यहाँ अचेल मान्छे जलाउनेहरूको पनि भिड छ
बच्चा, युवा, वृद्ध हरकोहीलाई कोभिड छ
न त जात भन्यो न त धर्म
जति ठूलो जातको भए पनि
उसले अरूलाई छुन नदिने बनायो
अरूका अगाडि श्वास फेर्न पनि मुख छोप्नु पर्ने बनायो
मैले फेर्ने स्वासले पनि हर कोहीलाई पोलिरहेछ
खडेरीमा पनि आज हरकोहीको आँसु बनी बगिरहेछ
खै थाहा छैन कसरी कोभिडले सबैलाइ लोभ देखाएर
एकएक गर्दै आफूसँगै मिसाइरहेछ
कोही आमाबुवा आफ्ना नालाबाला त्यागेर मिसिँदै छन्
अनि कोही छोराछोरी आफ्ना आमाबुवा त्यागेर
मन्दिरमा बलिरहेको मानव जातिको दियो देखेर
कहिले ठूलो हावा त कहिले बाढी, अनि कहिले भुकम्प बनी
नियति लागिपर्दैछ निभाउन त्यो ज्योतिको किरण
तर केही मानिस सेता, चोखा कपडा लगाएर सच्चा व्रत बसेरै
अझै आशाको दियोमा तेल थपिरहेछन्
थाहा छैन कहिलेसम्म सक्छन् ?
दियोमा तेल थपेर बस्न
तर हामी त्यो व्रत हेर्न जान नसके पनि
त्यही मन्दिर बाहिरै बसेर
उनीहरूलाइ हौसला दिनेछौँ
बाँकी सबै दियोमा तेल थपिरहन
जबसम्म कोभिड छाडेर ती आमाका रित्तो काख भर्न
छोराछोरी फर्किँदैनन्
जबसम्म छोराछोरीका
बगिरहेका आँसु पुछ्न बुवाआमा फर्किँदैनन्
तबसम्म तिमी अनि म भौतिक रूपमा टाढै बसेर
मानसिक रूपबाटै लडेर बसौँ,
ती दियाहरुमा तेल थपेर बसौँ
भोलि पक्कै पनि सूर्योदय हुनेछ
तर तबसम्म अन्धकारमैँ बसेर
आशाको दियो बालिरहौँ
त्यो सूर्यको किरण पक्कै आउनेछ
हरकोहीको घर दैलोमा उज्यालो बनाउन
तर अचेल मान्छे जलाउनेहरूको पनि भिड छ
बच्चा, युवा, वृद्ध हरकोहीलाई कोभिड छ




