प्राकृतिक मनमोहक हुनुपर्नेमा अघिपछि डङ्गुरका डङ्गुर होटलका लेदो र बजारको ढलले गर्दा नाकको पोरा नै बन्द भएर सास फुस्केलाजस्तो हुने नारायणीमा एकाएक सफा पानी बग्न थालेपछि गोहीलाई अचम्म लागेछ । अनि उसलाई अचम्म पो किन नलागोस्, एक्कासि आएको परिवर्तन देख्दा ।
सधैँ मान्छेको कोलाहल र सवारीको हर्न बजेर राम्ररी आँखा जोडेर निदाउन नपाउने शहरमा अचानक सबैतिर सुनसान देखेपछि गोही कोमनमा शंका पनि लाग्न थालेछ । ठूलो ढुङ्गामा चढेर अलिक परसम्म हेरेपछि न्यास्रो मान्दै मनमनै भनेछ– “उफ! कता गएछन् मान्छेहरु हुँ ? पृथ्वी छाडेर कतै मङ्गल ग्रहतिर त गएनन् ?”
साँझपख खुट्टा तन्काउन भनी निस्केको गोहीलाई नदिको डिलको उकालो घर्सदै घर्षदैं घर्सदै सडकमा उक्लेपछि फतक्कसँग खुट्टा गलेछ।“ओहो ! निक्कै कुँजिएछन् खुट्टाहरु ।” उसले थक्क मान्दै चारैतिर नजर लगाएछ ।
कोरोना नामक भाईरसको आतङ्कले मान्छेलाई बाहिर खुलेआम हिड्न डर रहेछ । अदृष्य त्यो जीवाणुले मान्छेको ज्यान जाने भन्नेखालको पर्चा पढिसकेपछि बल्ल गोहीलाई मान्छे घरभित्रै थुनिएका छन पृथ्वीमा छन् भन्ने कुरामा ढुक्क भएछ र बल्ल आनन्दले यताउताहेर्दै सडकमा नै टहल्न थालेछ ।
सडक किनारमा लाईन लागेर बनेका थरीथरी निवास भनेर लेखिएका मिलेका सभ्य र भव्य घरहरु देखेर अनायासै गोहीको मुखबाट झण्डै“ओहो !” आवाज निस्केछ ।
पानी मुनीको अर्काको रमाईलो घर – संसार भताभुङ्ग पारेर मान्छेले आफ्नो घर चै खूब बान्की पारेर राखेको रहेछन् । थरीथरी फुलेकाफूलहरु, झलुङ्गे पिङ्ग, घरभरी झिलिमिली बत्तीहरु अनि भित्तामा कोरिएका नानाभाति बुट्टाहरु । भित्तामा एउटा बुट्टा त ठ्याक्कै जिउँदोगोहि नै हो जस्तो रहेछ–ह्याङ्ँग पारेर दाह्रा फिंजाएको । नदि भरी जतासुकै सिसाका बोतल र प्लाष्टिक फालेर हुर्मत लिएको मान्छेले आफ्नो घरको भित्तामा चैँ त्यस्तो मुर्ति बनाएर टालेको देख्दा गोहीलाई रोऊँ कि हाँसौं झैं भएछ । यत्तिकैमा एउटा मौरी ढुनमुनिर्दै आएछअनि गोहीसँग ठोक्किएछ ।
“अचम्म नमान्नुस् दाई । मान्छेको जात ज्यादै ज्याद्रो र देखावटी हुने रहेछ । सक्कली कुराहरूको सुगन्ध त लिन नसक्ने भै सकेको छमान्छे । ती फूलहरु सबै प्लाष्टिकका हुन् । असली फूलमा हालिएको विषादीले मेरो आँखा कमजोर भए राम्ररी देख्न नस्कने भए । मान्छेखराब छ बरू यसरी एक्लै नहिड्नुस् तपाईको छाला काडेर कपास कोचेर घर सजाउन बेर लगाउन्न है मान्छेले ।“
मौरीको कुराले गोहिको सातो गएछ । “बरुअब छिट्टै मान्छेको रवैयाविरुद्द एकजुट हुनुपर्छ । मैले भेटेजतिलाई भन्दै हिँडेको छु तपाईं पनि भन्नुस् । मान्छेसँग भिड्ने हो । समययस्तै हो नत्र ढिलो होला ।”
एकै सासमा यति भनिसकेर मौरी त्यहाँबाट उडेछ । त्यसपछि गोही पनि अतालिएर हतार–हतार फर्केर चिसो नारायणीको पानीमा विलीन भएछ । अनि नदी आफ्नै गतिमा गहिराइसँगै सुनसान थियो ।
( लेखक डा. सुबेदी दन्तरोग विशेषज्ञ हुन् ।)




