स्विकारिन्नन यहाँ
स्वार्थका चम्किला लेपनहरुको बिच
निस्वार्थ भावमा मैलिएका मुहारहरु
उपकार गरेर थाकेर थोत्रिएका जिन्दगीहरु
चिनिन्नन् र चिनाईन्नन
दुधको दुध
पानीको पानी
यहाँ त बरु
अरुलाई अघाउन्जेल घिचाएर पनि
गालीले पेट भरेकी छ भान्से
दशा कटाईएर मिल्किएको छ फूल
थारीएपछि बाटो कटाईएकी छ मालीगाई
अरु पनि थुप्रै थुप्रै देखिन्छन
नटिकेका जिन्दगीहरु
यता त आजकल
छेवै छेवैमा देखिन्छन
खाने थालीले दिलाएको रवाफ
घरको पालीले बढाएको उचाई
चुच्चे टोपिमाथि थापिने मान
अनि यतैतिर
अल्मलिएको छ आत्मज्ञान
तर
बातै काढेर जित्नेहरुको भिडमा
अाँफैलाई अाँफै भित्रको
अाँखि झ्यालबाट नियालि रहेको मनुवा
मृत्यु शैया नपुग्दै जिन्दगिको अर्थ बुझ्छ अनि यताउति हेर्छ
मरेका मान्छेहरु अत्तर छरेर दैडिरहेछन
अलअलि सास तान्दै बौरीरहेछन
अनि त्यसमै
हाड छाला भित्र कुजिएको मन छ
गाँठों परेको हत्केलामा कनिकुथि धन छ
मनको कुना कुनामा कोलाहल छ
असरल्ल रहरै रहरकै मात्र बेहाल छ ।
त्यसैले त
सबैलाई यो भागदौडमा
घर्सदै गरेको जिन्दगी हुईकाएर
देखाउनु परेको छ ।
आँफै मुनीको माटो उधुनेर
आँफैलाई आकाशमा सुईकाएर
देखाउनु परेको छ
फुङ्ग परेको जिन्दगीलाई
व्लिच गरेर
स्विच थपेर
झलाकझुलुक आनन्दमै पसारिनु परेको छ
अब फेरी यो शहरमा
चारैतिर हानाहान हुँदैछ रे
तानातान हुँदैछ रे
भो अब पुग्यो भनेर हिजै सुतेकाहरु बिच
भोली फेरी मानामान हुँदैछ रे
त्यसैले होला
लोभिएर कहिलेकाहीं आफ्नै लयमा
बजाउन तम्सन्छ जिन्दगी
कजाउनु तम्सन्छ जिन्दगी
मान्छे भएर मान्छेकै वेहाल देखेर
भगाउन तम्सन्छ जिन्दगी
अगाडी अगाडि
तर पनि
पछाडि पछाडि त
एक हुल मान्छेहरु
ङिच्च परेर हेरिरहन्छन
एक हुल जिन्दगि
ठसठस कनिरहन्छन
कोहि रोईरहन्छन
अनि
आईरहन्छन पछि पछि लागेर
तिमिसंगै
लुटिएका रहर मेटन
ठगिएको भाग्य खोज्न
अनि सङ्गै सङ्गै हिँडन
उनैको आफ्नै सम्झेर
त्यसैले
स्विकारेर साथ लिएर हिडौं
निस्वार्थ भावका मैलिएका मुहारहरु
त्यागेर स्वार्थका चम्किला लेपनहरु ।
“आह्वान “
“आह्वान “
Advertisement
तपाईको प्रतिक्रिया
यो पनि हेर्नुहोस




