चितवन हस्पिटलको भिड ! एक जना मेरो गुरु लाइनमा सकी नसकी उभिरहनु भएको देखेँ। धेरै बेर हेरिरहेँ, को सङ्ग आउनुभएको होला ? उभिन नसकेर पल्याक पुलुक हेर्नुभो ।सबै आ- आफ्नो धुनमा ! कस्ले कस्लाई हेर्ने फुर्सद ? शहरमा काम नै धेरै भएर हो कि ? काम नै नभए पनि ब्यस्तता देखाउन हो ! सबैको दौड हेर्न लायक थियो ।
म पनि यही शहरको मान्छे पक्कै हतार थियो नै । तै पनि गुरुको माया लाग्यो ,नजिक गए गुरु नमस्कार भन्दै ।सधैं मुस्कुराउने मेरो गुरु आज किन हो मुस्कुराउनु भएन ।मैले सोचे बिरामी भएर होला । उहाँ अडिन नसकेर बस्न खोज्नु भो ।मलाई देख्ने बित्तिकै हात अगाडि बढाउनुभो ।मैले समाते, इसारा गरेर त्याहाँ लैजाउ भन्नुभो लगेर कुर्सीमा राखेँ।बोल्न सक्नुभएन, रुनु भो । मलाई पनि आँसु आयो। हस्पिटलको कार्ड लिएर टिकट काट्न लाग्दा गाह्रो भो भन्नू भो। को सङ्ग आउनुभो हजुर भनेर सोधें ,फेरि रुनु भो ।मलाई अरु सोध्ने आँट भएन ।
म पनि लाइनमै बसेर डा .कुरिरहेको थिए। मेरो नाम आयो जान पर्ने भो ,तर गुरुलाई छाडन सकिन, यताउती हेरेँ कोहि चिनेको मान्छे पनि भेटिन। त्यहीँको यौटा कर्मचारीलाई एकछिन हेर्दिनु है भनेर हिड्न खोजे तर गुरुले “मलाई यहि इमर्जेन्सीमा भर्ना गर्देउ न “,भन्न पो थाल्नुभो ।मलाई गाह्रो भो भने पछि मैले हतार हतार उहाँलाई त्यही इमर्जेन्सीमा लगेर भर्ना गरेँ।आफू बिरामी भएर जचाँउन गएको म कुरुवा पो भए ।करिब १ घन्टा पछि आँखा खोल्नु भो गुरुले ,म नजिक गएर बसेँ ।घरमा फोन गरूँ गुरु भनेर सोधेँ ।म्याडम बिरामी छ आउन सक्दिन ।अनि बाबुहरु? बिदेश छन सबै ।अब कस्लाई बोलाउ त? म त अलमलमा पो परें त ! तिमीलाई धेरै ढिलो भइ सक्यो हगि? भनेर बिस्तारै बोल्नु भो गुरु, मैले हजुर भने । फेरि गुरुको अवस्था बारे बुझ्न डा. कहाँ गएँ ।
गुरुलाई डिस्चार्ज गर्न डा.साब मान्नु भएन ।मलाई आपत पर्यो ।आफू नै बिरामी छु।घरमा फोन गरेँ ,हस्पिटल मै छु भनेर ३ घन्टा बितिसक्यो । अब के गर्ने होला ? चिन्ता पो लाग्न थाल्यो । गुरु नजिकै गएँ ।उहाँको आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेको देखेँ। मन थामिएन मेरो । यथेष्ट कमाएका मेरो गुरुसङ्ग सबै थियो घर, परिवार अनि सम्पत्ति ! आज त आँसु सिबाय केही देखिन । फेरि बोल्ने साहास जुटाएँ ।गुरु छोराहरुसङ्ग दिग्दारिएको कथा सुनाउन थाल्नुभो ।लाख कोसिस गर्दा पनि परदेश गएका छोराहरु फर्काउन नसकेको गाथा मार्मिक थियो ।
अब कसरी बाँच्ने खोइ? पैसाले के गर्यो र ? बैंकमा पैसा त छ टन्न ! म्याडम एकातिर पल्टन्छे हँ हँ गर्छे ,म टुलु टुलु हेर्छु ।काम गर्ने मान्छे राखेको सबै भएको लुटुपुटु पारेर भाग्यो । घरमा भाडामा बसेकाहरू पनि ब्यस्त छन ।कतिखेर जान्छन ,कतिखेर आउँछन थाहा नै हुँदैन । छोराहरूलाई बिरामी छु भन्यो भने जचाँउनु राम्रो डा .सङ्ग, ठीक हुन्छ भन्छन।आजकल उतै बाट फोन गर्छन ,मलाई जाँगर पनि छैन तिनीहरुलाई फोन गर्ने । खोइ ,मरे पछि पोल्न आउँछन् कि! छ न त आफन्त पनि छन, तर खै र फुर्सद ? कोही फर्केर आउदैनन । खै, कस्तो दौडमा छ यो दुनियाँ ,मैले बुझ्नै सकिन । लामो श्वास फेर्नु भो गुरुले । म बिरामी भएर हस्पिटल गएको मान्छे गुरुका कुराले आफ्नो रोग पनि बिर्सेछु।लाग्यो ,गुरु मेरा आफ्ना मान्छे हुन यिनलाई निको बनाएर घर पुर्याउनु मेरो दायित्व हो ।म फेरि डाक्टर भेटन पुगे ,यथार्थ बताए ।गुरुलाई घरसम्म पुर्याए । ठूलो कम्पाउड सहितको शिशमहल, तर रित्तो! गुरुले म तिर हेर्नू भो र भन्नु भो, “यही हो हाम्रो रित्तो घर” ! हेरेँ ,सुबिधा सम्पन्न घर ,म्याड्म सुतिराख्नु भएको । सानो यौटा कुकुर उहाँसङ्गै सुतिरहेको थियो ।
उहाँले त्यसलाई मुसारी राख्नुभएको थियो । मानौं त्यो उहाँको नातिनातिना नै हो । ।म उठनै सक्दिन नानी! ढाड बेस्सरी दुखेको छ ।मलाई देखेर उठन खोज्नु भो म्याडम तर सक्नु भएन । म भारी मन लिएर घर फर्के ! खुट्टा दुखेर हस्पिटल गएको म त त्यसै पो फर्केछु। धन वैभवले भरिपूर्ण रित्तो घर हेरेर । फेरि पनि फर्केर हेरेँ मेरो गुरु र गुरुआमालाई , जो सबै भएर पनि अपूर्ण थिए …अनि त्यो शिशमहललाई …निर्जन मरुभूमि जस्तै उजाड त्यो घर …जहाँ सबै थियो ,तर पनि सुनसान .. जहाँ दुई वृद्ध जोडी बसेका छन ,अनन्त पर्खाइमा .. …… उफ!….. ..गरुङ्गो मन बोकेर म घर फर्के ।
(लेखक : भरतपुर १२ चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कूलकी प्राचार्य हुनुहुन्छ । )




