सर्लाही । सर्लाहीमा शुक्रबारदेखि दुई छुट्टाछुट्टै फुटबल प्रतियोगिता सुरु हुने भएका छन् । चाडपर्वको अवसरमा खेलप्रति रुचि बढाउन र युवा खेलाडीलाई प्रोत्साहित गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकहरूले जनाएका छन्।
सोही अनुसार हरिवन नगरपालिका–६ घुर्कौलीमा प्रथम घुर्कौली कप फुटबल प्रतियोगिता र हरिपुर नगरपालिका–७ चिताइनमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ। आयोजकहरूले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।
घुर्कौली कपमा महोत्तरी र बारा जिल्लाका टिमसहित १४ क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्नेछ। विजेताले ट्रफीसहित १ लाख रुपैयाँ, र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यस्तै दोस्रो मेयर कपमा हरिपुर नगरपालिकाका ९ वडाका टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। विजेताले ट्रफीसहित १ लाख रुपैयाँ, र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।




