काठमाडौं । नेपाल आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नौ टोली सहभागी हुँदा नेपाल च्याम्पियन भएको हो ।
नेपाल यसअघि नै भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा छनोट भइसकेको छ । यो विश्वकप ७ फेब्रुअरीदेखि ८ मार्चसम्म हुँदै छ । सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार नेपालले सामोआलाई १२४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१२ रनको लक्ष्य दिएको थियो। प्रतियोगितामा नेपालले बनाएको यो नै ठुलो स्कोर हो ।
प्रत्युत्तरमा सामोआले सात विकेटको क्षतिमा मात्र ८७ रन बनायो । सामोआका सिन सोलियाले सर्वाधिक ४० र बेन माइलताले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ललितनारायण राजवंशीले एक मेडनसहित तीन विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए ।
उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे । शेखले ४१ बलमा सात चौका र चार छक्कासहित ६९ रन जोड्दा ३३ बल खेलेका ऐरीले दुई छक्का र चार चौकासहित ५३ रन बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेलले १७ र कप्तान रोहित पौडेलले २१ रन बनाउँदा लोकेश बम विस्फोटक रूपमा प्रस्तुत भए। उनले १२ बलमा ३९ रन जोडेका थिए ।
नेपाल सुपर सिक्समा पाँच खेलबाट सर्वाधिक १० अंकसहित शीर्ष स्थानमा रह्यो । प्रतियोगितामा नेपाल एक मात्र अपराजित टिम बनेको छ । साभार ः नया पत्रिका




