सर्लाही । फागुन २१ गते हुने चुनावलाई लिएर सर्लाही ४ यतिबेला गर्माएको छ । काँग्रेस सभापति गगन थापा आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेर यहाँ चुनाव लड्न आएका छन् भने रास्वपाबाट टिकट लिएर पूर्व सांसद अमरेश कुमार सिंह यहीँबाट उमेदवार बनेपछि यो क्षेत्रले सबैको ध्यान तानिरहेको छ ।
यो क्षेत्रमा काँग्रेसका गगन थापा र रास्वपाका अमरेश सिंह विच कडा प्रतिष्पर्धा हुने चर्चा भइरहे पनि चुनावी नतिजा अर्कै आउन सक्ने आँकलन भइरहेको छ । जनमत पार्टीबाट उमेदवार बनेका राकेश मिश्रा गगन र अमरेशलाई भारी पर्ने यहीका मतदाताहरुले बताएका छन् ।
राकेश मिश्राको आधार बलियो देखेपछि गगन र अमरेशको मुटुमा ढ्याङ्ग्रो बज्न थालेको छ । आफू बलियो रहेको प्रमाण उमेदवार मनोनयन कै बेला विशाल शक्ति प्रर्दशनसहित देखाई सकेका मिश्राले गगन र अमरेशको कडा टक्करलाई ब्रेक गर्दै चुनाव जित्ने चौतर्फी चर्चा हुन थालेको छ ।
घण्टीको बलमा चुनाव जित्ने सपना देखेका अमरेश र प्रदेशभरीका नेता कार्यकर्ता जम्मा गरेर ठुलो भीड देखाएका गगनको वस्तविकता अर्कै रहेको विश्लेषकहरुको बुझाई छ । चार नम्बर क्षेत्रको राजनीतिलाई गहिरोसँग नियालेका गोडैताका रामनरेश पटेलले सर्लाही ४ मा गगन र अमरेश मिडियाहरुले देखाएको जस्तो बलियो नरहेको बताए । ‘गगन ठुलो पार्टीको सभापति, भावी प्रधानमन्त्रीको उमेदवार ठुला मिडियाले चर्चा गर्ने नै भयो । अमरेश पनि पूर्व सांसद उनको पनि राष्ट्रिय स्तरकै मिडियामा चर्चा हुने नै भयो । तर मिडियाहरुले उनीहरुलाई जति नै हिरो बनाएपनि ४ नम्बरमा असली हिरो अर्कै छन् उनी हुन् जनमत पार्टीका उमेदवार राकेश मिश्रा, जसमाथि मिडियाको आँखा परेकै छैन । उनलाई मिडियाले खासै कभर गरेका छैनन् तर चुनाव यिनैले जित्छन् ।’
रामनगर गाउँपालिका निवासी रामएकवाल ठाकुर यो पटक सर्लाही ४ मा जनमत पार्टीका उमदेवार राकेश मिश्राले बाजी मार्ने बताउँछन् । उनी भन्छन्,‘४ नम्बर क्षेत्रका जनताको भविष्य सुधार गर्न पनि राकेश मिश्रालाई मत दिएर जिताउनु पर्छ ।’
उनले अमरेश सिंहबाट आफूहरुको आश मरिसकेकोले अब उनीबाट क्षेत्रवासीले विकासको आशा गर्न नसक्ने बताए । अर्का उमेदवार गगन थापाप्रति लक्षित गर्दै उनले पहडिया र क्षेत्रबाहिरका उमेदवारलाई सर्लाही ४ ले विश्वास नगर्ने बताए ।
त्यस्तै बलराका जेनजी यूवा अनिल यादवको मत पनि राकेशकै पक्षमा देखिन्छ । उनले भने,‘अमरेश सिंहले जातको नाममा डर र धम्की देखाएर मत लिने गरेको छ । अब उनको कुरा कसैले सुन्ने बाला छैन । उनी भ्रष्ट र फटाहा प्रवृतिको व्यक्ति भएकोले उनलाई क्षेत्रवासीले विश्वास गर्ने छैनन् ।’ उनी अगाडि भन्छन्,‘अमरेश सिंहले युवाको प्रतिनिधित्व गर्नै सक्दैनन् । उनी युवा पनि होइनन् । उनलाई मत दिनु भनेको जेनजी यूवाहरुको बलिदानीको बदनाम गर्नु हो ।’
त्यस्तै गोडैताका रामविनोद मण्डलले पनि ४ नम्बर क्षेत्रका जनताले राखेको आशा र भरोसा अमरेश सिंहले पूरा नगरेको र उनी आफै भ्रष्टाचार काण्डमा बदनाम भएकोले यो पटक राकेश मिश्रालाई नै मत दिने बताए ।
त्यस्तै सिसौटका चन्द्रशेखर कुमार यादवले बाहिर हल्ला चलेजस्तो अमरेश र गगनको मत नरहेको बताउँछन् । उनी भन्छन्,‘अरु १२ ओटा छाप जुनसुकैमा हालौंला तर अमरेशलाई चैं भोट हालिँदैन । उनीबाट हामी निकै आजित भइ सकेका छौं । अर्को कुरा मर्दा पर्दा चाहिने भनेको छिमेकी हो । बाहिरबाट आएका मान्छेले त भोट लिन्छन् जान्छन् । तर राकेश मिश्रा यहीको बासिन्दा हो । राम्रो मान्छे पनि छ । यो पटक राकेश मिश्रालाई नै होरन छापमा भोट दिन्छौं ।
पटक पटक हारेर पनि निरन्तर जनताकै सेवा लागि रहेका उमेदवार राकेश मिश्राले पनि यो पटक आफूले चुनाव जित्ने बताए । उनले आफूलाई ४ नम्बर क्षेत्रका जनतामाथि शत प्रतिशत भरोसा भएकोले आफूले अत्यधिक मतले चुनाव जित्ने ठोकुवा गरे । उनले भने,‘अमरेशको कुरै नगरौं, मेरो मुख्य प्रतिष्पर्धी गगन थापा हुन्, तर चुनाव म नै जित्छु । किनकी यहाँका जनता परिवर्तनको पक्षमा छन् । यो क्षेत्रको जनताको सेवा गर्ने सेवक म नै हुँ । बाहिरबाट आएका उमेदवारको यहाँ काम नै छैन । गगनले चुनाव जितेर गएपछि यो क्षेत्रमा फर्केर आउँदैनन् । त्यसैले परिवर्तनको पक्षमा रहेका जनताले यहीको अर्गानिक उमेदवारलाई मत दिन्छन् यसमा कुनै शंका नै छैन ।
राकेश मिश्राको जित्ने आधार के छ त ?
सर्लाही क्षेत्र नम्बर ४ मा जनतम पार्टीको संगठित सदस्य मात्रै ४५ हजार बढी छ । त्यसमा केही प्रतिशत मात्रै तलमाथि हुँदा ३०÷३५ हजार मत खस्छ । जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले सर्लाही ४ जनमत पार्टीको आधार इलाका भएकोले राकेश मिश्राको विकल्प नरहेको बताउँछन् । उनी भन्छन्, ‘यहाँका जनताको असल सेवक राकेश मिश्रा हुन् । कोही बाहिरबाट आएको व्यक्ति यहाँको सेवक हुन सक्दैन । राकेश मिश्रा यहाँको भूगोल, माटो र रस्तीवस्तीसँग परिचित छन् । उनी एक असल, इमान्दार र विद्वान नेता हुन् । उनीसँग स्पष्ट भिजन छ । कोही आएर कराउँदैमा वा वेमौसी हावा चल्दैमा हामीलाई कुनै फरक पर्नेबाला छैन ।’
त्यस्तै गोडैता नगरपालिकाका मेयरका प्रत्यासी श्यामबाबु साह पनि यो पटक जनमतका राकेश मिश्रालाई नै जिताउने अभियानमा लागेका छन् । उनी भन्छन्,‘म पहिला अमरेश सिंहको चुनावी कमाण्डर थिएँ । अहिले राकेश मिश्राको चुनावमा खटेको छु । म जस्तै थुप्रै साथीहरु अमरेशको साथ छोडेर राकेश मिश्राको साथमा छौं । यो पटक जसरी पनि राकेश मिश्रालाई नै जिताउनु पर्छ । किनकी उनी सर्लाही ४ को सबैभन्दा उपयुक्त उमेदवार हुन् ।
जनमत पार्टीका केन्द्रीय कार्यकारीणी समिति सदस्य संजय सिंहले पनि सर्लाही ४ मा राकेश मिश्राकै आधार बलियो रहेको बताए । उनले भने,‘२०७९ को चुनावी नजिता हेर्दा हाम्रो समानुपातिक मत १२ हजार बढी छ । पोजिसनको हिसावले यो दोश्रो मत हो । अहिले क्षेत्रका ५१ ओटै वडामा हाम्रो सक्रिय संगठन छ । सबै साथीहरु सक्रिय रुपमा लागि रहनु भएको छ ।’
उनले अगाडि भने,‘सर्लाही ४ कोर मधेश भएकोले यहाँ पहडिया उमेदवारले जितेको इतिहास नै नभएकोले गगनको यहाँ जितेर प्रधानमन्त्री बन्छु भन्ने सपना सपनामै सिमीत हुन्छ । राजधानीमा बसेर मधेशको लागि केही नगर्ने, मधेशको पीडामा नदुख्ने उनी अहिले सेवक बन्न आएको हुँ । बेटा बन्न आएको हुँ भनेर जति इमोशनल बनेपछि मधेशका जनताले पत्याउनेवाला छैनन् । किनकी पहाडले मधेशीया भनेर गर्ने व्यवहार मधेशी जनताले कहिल्यै भुल्ने छैनन् । त्यसैले यहाँ मधेशीकै असल छोरा राकेश मिश्राले चुनाव जित्नु पर्छ र हामी जिताउँछौं । यहाँका जनताले जिताउनेछन् ।’
को हुन् त राकेश मिश्रा
वि.सं.२०३० साल फाल्गुन ३ गते पिता बालकिशोर मिश्र र माता धर्मशीलादेवीको सुपुत्रका रुपमा गोडैता नगरपालिका ८ मा जन्मेका ५२ वर्षिय राकेश मिश्रा उखु किसान आन्दोलनका एक अगुवा नेता हुन् ।
अमृत साईन्स कलेजबाट विएस्सी गरेका उनले राजनीतिक शास्त्रमा समेत एमए पूरा गर्ने एक विद्वान नेता हुन् । मधेशवादका प्रणेता नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गिय गजेन्द्रनारायण सिंहबाट प्रेरणा पाएर विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएका उनी २०४६ सालमा नेपाल सद्भावना पार्टी निकट विद्यार्थी संगठनको सर्लाही जिल्ला अध्यक्ष भए । २०४८÷४९ सालमा सोही विद्यार्थी संगठनको केन्द्रीय सदस्य बनेका उनीले अध्ययन र अन्य विभिन्न कारणले राजनीतिलाई निरन्तरता दिन सकेनन् ।
त्यसपछि उनी पत्रकारीतामा लागे । उनले २०५५ सालमा विश्लेषण साप्ताहिक र विश्वदीप साप्ताहिकमा काम गर्न थाले । हिमाल दृष्टि पत्रिकाका सम्पादक हुँदै उनी भारतीय पत्रिका पञ्चजन्यमा व्यूरो चिफ भए । त्यसपछि उनले जी न्यूज, हिन्दुस्तान समाचार, जी न्यूज एजेन्सी दिल्ली लगायतमा निरन्तर काम गर्न थाले ।
देशको व्यवस्था र जनताको अवस्था राजनीतिबाट नै सुधार हुन सक्ने बुझेका उनको चाहना विद्यार्थी कालदेखि नै राजनीति गर्ने भएपनि विविध कारण केही समय अलग भए । तर जब उनले पत्रकारितालाई अंगाले र केही पैसा जम्मा गरे त्यसपछि फेरी उनी राजनीतिमै फर्किए ।
२०७० सालमा महन्थ ठाकुर नेतृत्वको तमलोपा पार्टीबाट राजनीतिमा पुनः प्रवेश गरेका उनी त्यसपछि सोही वर्ष सो पार्टीको केन्द्रीय सदस्य भए । त्यसपछि २०७२ र २०७४ सालमा गरी उनी दुई पटक सो पार्टीको केन्द्रीय सह–महामन्त्री बने ।
२०७४ साल सम्म आईपुग्दा मधेशका अन्य दलहरुसँग मिलेर उनको पार्टी राजपा भई सकेको थियो । २०७४ सालमै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी सर्लाही क्षेत्र नम्बर ४ बाट राजपाबाट उमेदवार बने । काँग्रेसका उमेदवारसँग झिनो मतान्तरले पराजित भएका उनले २८ हजार १३६ मत प्राप्त गरी दोश्रो स्थान हासिल गरे ।
पराजयबाट समेत पाठ सिकेर उनी निरन्तर जनताकै सेवामा लागि रहे । २०७९ सालमा फेरी उनी उपेन्द्र यादव नेतृत्वको जसपाबाट चुनावमा होमिए । यो चुनावमा जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको थियो भने काँग्रेस, माओवादी लगायतको पाँच दलिय गठबन्धन थियो । पाँचदलीय गठबन्धनको चेपुवामा परेका मिश्राले यो पटक पनि चुनाव जित्न सकेनन् । तर यो बीचमा उनी निरन्तर जनताको सवामै लागे र यहाँका उखु किसानको पीडामा मल्हम लगाउने काम गरे । उनले उखु मिलहरुले किसानलाई भुक्तानी दिन बाँकी एक अरब बढी रकम दिलाएका छन् ।
त्यसपछि पनि निरन्तर जनताकै सेवामा लागेका उनी अहिले जनमतबाट उमेदवार बनेका छन् । यो पटक उनले गगन र अमरेशलाई पछि पार्दै चुनाव जित्ने आंकलन भइरहेको छ । उनी आफै पनि जनतासँग मत माग्न घर घर पुगीरहेका छन् भने उनको पार्टीले पनि उनलाई चुनाव जिताउन डटेर लागि परेको छ ।




