कविता: सहिद परिवारको सपना…
मेरो परिवारको रगतले रंगिएको त्यो माटो
अहिलेसम्म पनि भिजेको छ,
सायद केही सपना अझै
मरेका छैनन्…!
म चिच्याएको थिएँ –
म पनि युद्धको सिपाही बनेको थिए जाग नेपाली
“जनता! अब जाग!”
तर…
म निदाएँ,
र तिमीहरू फेरि सुत्यौ…
म कल्पेको थिएँ –
न्यायको जून उदाउँछ,
रोटी, रोजगारी र शिक्षाको
अधिकार बनेर जन्मिन्छन्,
तर…
तँ अझै
दलको झन्डा बोकेर
सपनाको शव जलाउँदै छस्।
मेरो आमाले सोचेकी थिइन् –
“अब त परिवर्तन होला!”
तर उहाँको चुल्हो
अझै त्यस्तै छ,
र तिमी- भजन, भोज र भाषणमा
सहिदको नाम बेच्दैछौ!
मेरो सपना
क्रान्तिको बुटमा थिएन,
न झन्डामा,
न त शालिकमा-
मेरो सपना थियो:
हरेक मान्छेले मान्छे भएर बाँचून्।
आज म हेर्छु-
सहिदको नाममा राखिएको चोक,
जहाँ रक्सी पसल, जुवा र माइकले
मेरो सहिद बहिनीको सपना लिलामी गरिरहेका छन्।
र मलाई लाग्छ-
म पुनः बिउँझनैपर्छ।
तर यो पल्ट शब्द होइन,
सचेत नागरिकको चेत बन्नुपर्छ म अब !!
पुर्व जनमुक्ति सेना नेपाल दोस्रो डिभिजन
सरिता थुलुङ्ग राई (सरिना)




