हरिवन, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको सहयोग तथा बौद्धिक तथा शारीरिक अपाङ्ग मानव सेवा केन्द्रको आयोजनामा मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि धुप, अगरबत्ती तथा डालमोठ निर्माण सम्बन्धी ७ दिने सीप विकास तालिम सुरु भएको छ।
हरिवन–८, हनुमान चोकमा सुरु भएको तालिम उद्घाटन सत्रको अध्यक्षता बौद्धिक तथा शारीरिक अपाङ्ग मानव सेवा केन्द्रकी अध्यक्ष भुवनेश्वरी पन्त कडरिया (अञ्जना) ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष गंगा ढुङ्गेल ले स्वागत मन्तव्य व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भयो।

उद्घाटन कार्यक्रममा हरिवन–८ का पूर्व वडाध्यक्ष यज्ञविनोद ढुङ्गेल, महिला नेतृ सञ्जिता घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिमबाट उत्पादित सामग्रीको प्रभावकारी बजारीकरणका लागि आयोजक संस्था र नगरपालिकाले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले सीप सिकेपछि उत्पादन हुने सामग्रीलाई बजारसँग जोड्न सके अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रम सञ्चालन संस्थाकी सचिव बिद्या पौडेल ले गर्नुभएको थियो। उहाँका अनुसार तालिममा सहभागीहरूलाई धुप, अगरबत्ती तथा डालमोठ निर्माण सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ।
संस्थाका अनुसार बौद्धिक तथा शारीरिक अपाङ्ग मानव सेवा केन्द्र वि.सं. २०७६ सालमा तत्कालीन इलाका प्रशासन कार्यालयमा तथा २०७७ सालमा समाज कल्याण परिषद्मा विधिवत् दर्ता भएको संस्था हो। पूर्ण रूपमा महिलाहरूको नेतृत्व रहेको यस संस्थाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारका लागि आयआर्जन, सीप विकास, राहत वितरण तथा सामाजिक सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आजदेखि सुरु भएको उक्त सीप विकास तालिम असार १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। तालिमबाट सहभागीहरूलाई स्वरोजगार तथा उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




