सर्लाही । कृषि स्नातक प्राविधिकहरुद्वारा आफूहरुको पनि सेवा सुविधा तलब वृद्धि तथा कार्यविधि संशोधन सम्बन्धी बजेट व्यवस्था गर्न अनुरोध गर्दै अर्थ मन्त्रालयसँग माग गरेका छन् ।
कृषि स्नातक प्राविधिकहरुद्वारा अर्थ मन्त्रालय लगायतका सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै भनेका छन् “हामी नेपाल सरकार, कृषि विभाग अन्तर्गत कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि बमोजिम देशभरका स्थानीय तहहरूमा कार्यरत कृषि स्नातक प्राविधिकहरू हौँ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारी तथा करार कर्मचारीहरूको तलब वृद्धि गर्ने घोषणा गरेको सन्दर्भमा हामी कृषि स्नातक प्राविधिकहरू पनि उक्त व्यवस्थाबाट लाभान्वित हुने अपेक्षा गरेका छौ भन्दै ध्यानाकर्षण पत्र पेस गरेको हरिवन नगरपालिकाका कृषि शाखा प्रमुख तथा कृषि विशेषज्ञ बिष्णुप्रसाद गुरागाइँले जानकारी दिए ।
गुरागाइँ भन्छन् “कृषि विभागबाट स्थानीय तहहरूमा पठाइएको बजेट विवरणमा हाम्रो तलब स्केलमा कुनै संशोधन नगरी पुरानै दररेट कायम गरिएको जानकारी प्राप्त भएको छ ।
सरकारको घोषित नीति हाम्रो मर्म विपरीत हुनु भनेको दु:खद कुरा हो भन्दै गुरागाइले भने “कृषि प्राविधिकहरूको मनोबल, पेशागत सम्मान तथा कार्यसम्पादनमा समेत प्रतिकूल असर परेको हुनाले तत्काल यस तर्फ सोच्न सम्बन्धित निकायसंँग आग्रह गरिएको छ ।




