सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ११ मा यस वर्ष विकास योजना छनोटको अभ्यासलाई नयाँ ढंगबाट अघि बढाइएको छ। विगतका वर्षहरूमा सीमित व्यक्तिहरूको उपस्थितिमा वडा कार्यालयमै योजना तय गर्ने परम्परालाई तोड्दै यसपटक बस्ती र टोलका नागरिकहरूले प्रत्यक्ष सहभागितामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि विकास योजना छनोट तथा प्राथमिकीकरण गरेका छन्।
बुधबार आयोजित “आयोजना तथा कार्यक्रम संकलन गोष्ठी– बस्तीस्तरीय भेला” मा वडा भित्र रहेका जय हनुमान, बासाटोल, नारायण मार्ग, नमुना, मनकामना र प्रगतिशील गरी छ वटा टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय नागरिक तथा सरोकारवालाहरू एकै स्थानमा भेला भई वडा विकासका लागि आवश्यक योजनाहरूको पहिचान, वर्गीकरण र प्राथमिकीकरण गरेका हुन्।
कार्यक्रम वडा अध्यक्ष शेष मेहबुब रेजाको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलामा सहभागीहरूले आफ्नो गाउँ तथा बस्तीका आवश्यकता र समस्याका आधारमा विकास योजनाहरू प्रस्तुत गर्दै सामूहिक छलफलपछि प्राथमिकताका आधारमा योजना छनोट गरेका थिए।
यो कार्यक्रम बागमती सेवा समाज नेपालद्वारा सञ्चालित “हाम्रो शहर परियोजना” अन्तर्गत आयोजना गरिएको हो। परियोजनालाई काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोग तथा हेल्भेटास नेपालको आर्थिक सहयोग रहेको छ। परियोजनामार्फत एक वर्षअघि गठन गरिएका टोल विकास संस्थाहरूले पहिलोपटक सामूहिक रूपमा योजना निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाएका हुन्।
बासाटोल टोल विकास संस्थाकी अध्यक्ष कामना पौडेलका अनुसार योजना छनोट तथा प्राथमिकीकरण प्रक्रियामा बागमती सेवा समाज नेपालका “हाम्रो शहर परियोजना” का कर्मचारीहरूले सहजीकरण र प्राविधिक सहयोग गरेका थिए।
त्यस्तै प्रगतिशील टोल विकास संस्थाकी अध्यक्ष ढाका कुमारी कार्की ले यस वर्ष आफ्नै बस्तीका नागरिकहरूले विकास योजना छनोट गर्न पाउँदा योजना निर्माण प्रक्रिया थप अर्थपूर्ण र उत्साहजनक बनेको बताइन्।
नारायण मार्ग टोल विकास संस्थाका अध्यक्ष सुकदेव कार्कीले समुदायका समस्या पहिचान गरी समाधानमुखी योजना तयार गर्ने अवसर “हाम्रो शहर परियोजना” ले उपलब्ध गराएकाले सबै समुदायबीच सहमतिका साथ योजना छनोट गर्न सहज भएको प्रतिक्रिया दिए।

भेलामा हरिवन नगरपालिका वडा नम्बर ११ का सचिव कृष्ण शर्मा, विभिन्न टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा “हाम्रो शहर परियोजना” का कार्यक्रम संयोजक रजनीश कुमार सिंह, समाज रूपान्तरण सहजकर्ता पूनम भट्टराई, विद्या पौडेल लगायतको पनि उपस्थिति रहेको थियो।

योजना छनोट प्रक्रियामा आर्थिक विकास अन्तर्गत सिँचाइ तथा कृषि, टोल विकास संस्था सञ्चालन खर्च, शान्ति तथा सुरक्षाका लागि सीसीटिभी जडान, सामाजिक तथा पूर्वाधार विकास अन्तर्गत सडक स्तरोन्नति, नाला निर्माण, सडक बत्ती, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वृक्षारोपण, डस्टबिन तथा फोहरमैला व्यवस्थापन, संस्थागत विकास, सुशासन र सेवा प्रवाह लगायतका योजनाहरू प्रस्ताव गरिएका थिए।

प्राथमिकीकरणको नतिजाअनुसार फोहरमैला व्यवस्थापन योजना ३२ अंकसहित पहिलो, सिँचाइ योजना १६ अंकसहित दोस्रो तथा सडक, नाला, सडक स्तरोन्नति र सडक बत्तीसम्बन्धी योजना १२ अंकसहित तेस्रो प्राथमिकतामा परेका छन्।

वडा कार्यालयले अब बाँकी बस्तीहरूमा पनि यस्तै प्रक्रिया अपनाउँदै योजना छनोट कार्यलाई निरन्तरता दिने जनाएको छ। टोल तथा बस्तीबाट छनोट भएका योजनाहरूलाई एकीकृत गरी नगरस्तरीय योजना तर्जुमा प्रक्रियामा समावेश गरिनेछ। स्थानीय तहको सात चरणीय योजना निर्माण प्रक्रियामध्ये बस्ती तथा टोलस्तरबाट योजना छनोट गर्ने चरणलाई महत्वपूर्ण मानिएको छ।

स्थानीय नागरिकहरूको प्रत्यक्ष सहभागितामा विकास योजना छनोट गरिएको यस अभ्यासलाई वडा नम्बर ११ मा सुशासन, पारदर्शिता र सहभागितामूलक विकासतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।




