सर्लाही । रास्वपाकी सांसद नितिमा भण्डारी कार्कीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै लालबन्दी ७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले लुटपाटको उद्देश्यले आक्रमण गरी चार राउन्ड गोली चलाइएका घटनाबारे जानकारी गराइन्।
उनले भनिन्, ‘गोली चल्नु, कुटपिट हुनु अहिलेको लागि सामान्य घटना भइसकेको अवस्था छ। शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो उत्तरदायित्व हो।’
पटक पटक यस्ता घटना हुँदा के कारबाही गर्नुभएको छ? भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन्।
उनले थपिन्, ‘अपराध गर्ने जो सुकै भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याई निष्पक्ष अनुसन्धान र कडा कारबाही आवश्यक छ। सरकार र गृहमन्त्रीसँग गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। सर्लाहीमा सुरक्षा संयन्त्रलाई अझै प्रभावकारी बनाइयोस्। दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइयोस् र नागरिकले सुरक्षित महसुस गर्ने वातावरण बन्नुपर्यो।’




