उनी थिए अलिक खरा स्वभावका ,अलिक मै हुँ भन्ने खालका ।कुरै नबुझी पहिल्यै बम्किने स्वभावका कारण उनी पटक पटक बिवादमा परिरहने गर्दथे।अन्तिममा कुरा बुझे सकेपछि पनि आफ्नो गल्ती स्विकार गर्न र क्षमा माग्न उनको अभिमानले रोक्दथ्यो र एक्लै मुर्मुरीएरै दिन बिताउने गर्थे। सबै कामको जस उनैलाई मात्र दिने र आफ्ना भुतपूर्ब हाकिमहरुको खेदो खनिदिने कर्मचारी भेटे भने दिनभरी बसेर र्याल चुहाई चुहाई मिलेरै उनीहरुको दोहोलो काट्थे।
उनलाई देशभित्र बिग्रिएको बिषयहरुमा दोष लगाउन र त्यसमा आफ्ना खुरापाती बिचार प्रकट गरेर भलादमी पल्टिन कसैले जित्दैन थ्यो। आफ्नो अभिमान र स्वार्थमा अटचन दिने खालका कोहि पनि देख्नै सक्दैन्थिए।
कतिपय कर्मचारीहरु उनको एउटा हात गोजीमा हालेर एउटै हातले राम्ररी नमस्कार नफर्काउने बानीलाई उनको बडप्पनसँग दाँजेर हेर्दथे।
कार्यालय राम्ररी चलाउन उनको मपाँईत्व सहने खालका दुई चार जाना जासुस र चाप्लुस पनि उनले बनाई राखेका थिए। त्यहि कार्यालयमा आफ्नै तरिकाले काम गरेर माम खानेहरु पनि थिए।उनिहरुलाई हाकिमको चाप्लुसीको जरुरत थिएन ।जे होस स्वाभिमानले काम कर्तव्य पुरा गरेकै थिए। बौद्दिक र नैतिक हिसाबले उनिहरु हाकिम भन्दा अब्बल नै थिए। तर पनि जागिरमा पदीय मर्यादा कायम गर्नुपर्ने भएकाले उनिहरु दिनको एक पटक हाकिमसँग सहज तरिकाले हाँसेरै कुरा गर्दथे।हाकिमको खाने मेसो पर्दा जो कोहि पुगिहालेमा हाकिमले पनि चिया मगाईहाल्थे र खुवाएर पठाउँथे।यसरी खानेपानीको उक्त सँस्थान चलिरहेकै थियो।
एकदिन सुखी चौधरी अलिक ढिलो गरी कार्यालय आईपुगी ।बच्चा बिरामी भएकोले उता पनि उसले समय दिनुपर्ने भयो। कामसँग मात्र मतलब राख्ने सोझी कार्यालय सहयोगी सुखीलाई हाकिमले त्यो दिन नमज्जाले गाली गरे।नियम, कानुन र नैतिकताको प्रश्नसम्म गर्न भ्याईसकेका थिए तर किन किन एकैछिन पछि टक्क उनको आवाज आँफै बन्द भयो।
सुखीले चुपचाप सुनिरही।एकैछिन पछि अर्का एकजना कर्मचारी पनि अलिक ढिलो गरी हाजिर गर्न आए ।सुखीलाई लाग्यो उनले पनि उसै गरी गाली खाने छन तर त्यस्तो केहि भएन ।गालाको दार्हि मुसार्दै उक्त कर्मचारी मुसुक्क हाँसिरह्यो। तीन जनाको बिचबाट उ त्यहाँबाट चुपचाप उठेर हिडिँ।
सुखीलाई मनमा नरमाईलो लाग्यो । आजसम्म कति दिन सुखी खाना नखाई काममा आएकी थिई ।कति दिन साँझ अबेर सम्म काम गरेकी पनि थिई।तर आज सानो कुरालाई आफैँ बढाई चढाई गरेर अनुमानकै भरमा गाली गरी सन्काहा जस्तो ब्यहोरा देखाउने हाकिम प्रति उसमा बितृष्णा जाग्यो ।उसले मनमनै खेद जनाई।
“छ्या !यो हाकिम त कार्यालय आफ्नै बाउको पेवा जस्तो पो गर्छ त ।उसकै नोकर त होईन नि हामी ।हाम्रो कामको सम्मान र मुल्यांकन गर्ने त कता कता हो।एकदिन भोकभोकै काममा केहिबेर ढिलो आँउदा समेत नानाभाँती भन्दै हकार्छ।”
सानालाई ऐन ठूलालाई चैन जस्तो गरी प्रत्यक्ष बिभेद गरेको उसलाई बुझ्न कुनै आईतबार कुर्नु परेन । नकिनसकी मरीमेटेेर काम गरेको कार्यालयमा समेत उसको अपमान र आत्मसम्मानमा परेको ठेसले उसलाई जागिर पेशाप्रति नै बिरक्त लागेर आयो। नैतिक हिसावमा स्वच्छ सुखीलाई आजसम्म कसैले त्यसरी अनैतिक आरोप लगाएको थिएन।उसलाई झनै पर्नुसम्म चोट पर्यो।मन गर्हुङगो भयो।तर कहिलेकाँहि गल्ती अन्जानबस भएको हुनसक्छ भन्दै चित्त ठुलो पारेर आफैंलाई सम्झाई बुझाई गरी।
बेलुका कार्यलय सकिने बेला हाकिमले कुरा बुझेर माफि माग्नु त कता हो कता झन फेरी जान्ने पल्टेर झन सम्झाउन खोजे।आफुलाई मात्र ठीक अनि अरुलाई जहिल्यै बेठिक मात्र देख्ने हाकिमको ब्यहोरा देखेर सुखीलाई बोल्न उपयुक्त लागेन ।ऊ त्यहाँ चुपचाप सुनीरही र बिरक्त मान्दै घर आई । आज उसलाई केही गर्ने जाँगर चलेन। फेसबुक खोली । हाकिमको पाचँ घण्टा अगाडीको स्टाटस ट्याक्क देखापर्यो।
“श्रमको उचित सम्मान गरौँ। नयाँ नेपालमा नयाँ सोचका साथ अघि बढ्न हातेमालो गरौं।
श्रम दिवसको शुभकामना ।”
“हैट! यो हाकिम भै खाएको मान्छे त खतरनाक पो रहेछ।” सुखीको मनले भन्यो ।काममा अलिकति ढिलो भएको बेला सुधारवादी देखिन उल्कै मच्चिएर आफ्नै तल्ला तहका कर्मचारीको हुर्मत लिन पनि पछि नपर्ने तर यता फेसबुकतिर चाहिँ बहुत मीठो स्टाटस हालेर गाउँ तिरका लाटा-बुङगाको अगाडी बहुत क्रान्तिकारी र अग्रगामी बन्ने हाकिमको द्वैध चरित्र उसलाई असह्य भयो। यो कुराले उसलाई अलिक दिन निद्रा नै लागेन।
केहि दिन पछि हाकिमले आफ्नै गाउँकी अर्की बहिनीलाई आफु अविबाहित भनेर बिहेको लालाच देखाएर घुमाउन लगेको थाहा पाए पछि सुखीलाई झन खपि नस्कनु भो।
“थुक्क! पापी “सुखीका ओठहरु कामे।
पहिले आफैले नमस्कार गर्ने गरेका हातहरु अहिले बेस्कन मुठ्ठी परेको जस्तो सुखीलाई लाग्यो ।अनि हाकिम, हाकिम्नी ,उनीहरुको बच्चा र हाकिमसँग बिहे गर्न तम्सिएकी बहिनीको मुहार पालै पालो याद आईरहे । उक्त दिन नैतिकताको प्रश्न सोध्ने बितिकै आफ्नो आवाज आँफै बन्द गरेका हाकिमको पनि आफ्नै खालको नैतिक विवशताको परिधी अनुमान लगाएपछि सुखीलाई हाकिम प्रति नै झन दया पो लागेर आयो।
सुखीको मन सम्हालियो अनि आफैँ हलुका भयो।बल्ल अब उ आनन्दले सुत्न सक्न भै। भोलिपल्ट कार्यलयको ढोकामै पछाडीबाट कसैले बोलाएजस्तै लाग्यो । सुखीले फर्केर हेरी। हाकिम ज्ञानी बच्चा झैं नचलमलाई उभिरहेका थिए ।उनको अनुहारमा आत्मग्लानीको लहर पानी झल्के जस्तै छल्किरहेको थियो।
“नमस्कार ,आरामै हुनुहुन्छ?”
सुखीले हाकिमतिरै नहेरी यत्तिमात्र भन्न भ्याई र जवाफ नकुरीकनै फटाफट कुचो लगाउन थाली।हाकिमले बोलेको सुखीको कानमै आईपुगेन उतै हावामै फुस्स कतै हरायो। पहिले यस्तो हुने थिएन तर किन हो फेरी आज धेरै दिनपछि सुखीले कार्यालयमा मन चङ्गा बनाएर काम गरी।
(लेखक डा. सुबेदी दन्तरोग विशेषज्ञ हुन् ।)




