परासी । शहरी विकास मन्त्री रामकुमारी झाँकीले सुस्तावासीलाई प्रक्रिया पुर्याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका-५ स्थित सुस्तामा सडक सञ्जालको उद्घाटन कार्यक्रममा उहाँले नेपाली भूमि संरक्षणमा सुस्तावासीको योगदान अमूल्य रहेकोले यहाँका नागरिकलाई नागरिकता र जग्गाधनी प्रमाणपत्रबाट वञ्चित नगरिने बताउनुभयो ।
भारतले पटकपटक अतिक्रमण गर्दै आएको नारायणीपारि सुस्ताका अधिकांश नागरिक नागरिकता र जग्गाधनी प्रमाणपत्रबाट वञ्चित छन् । सुस्ताको विकासमा सरकारको ध्यान पुगेको छ भन्दै मन्त्री झाँक्रीले ऐतिहासिक भूमि सुस्तामा विकासका पूर्वाधार बढाउँदै लगिने बताउनुभयो ।
शहरी विकास तथा भवन निर्माण विभागको नमूना एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत सुस्तामा निर्माण गरिएको पक्की सडक सञ्जालको उद्घाटन गरिएको विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो । सुस्तामा मन्त्रालयबाट ३५१ वटा सुरक्षित नागरिक आवास निर्माण गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।
सुस्तामा गाउँपालिकाको पहल र मन्त्रालयको बजेटबाट हाल चार हजार ६०० मिटर आरसीसी ढलान सडक निर्माण सम्पन्न भएको र थप दुई हजार ३०० मिटर सडक निर्माण हुने सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।




