चितवन । चितवनमा काेराेना संक्रमित ६५ वर्षीय वृद्वकाे मृत्यु भएकाे छ । रत्ननगर नगरपालिका वडा नं. १३ निवासी ६५ वर्षका ती पुरुषको बिहीवार दिउँसो २ वजेर ५७ मिनेट जाँदा मृत घाेषणा गरिएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए ।
ती पुरुष विगत ६ दिनदेखि कोभिड १९ संक्रमण पुष्टि भई भरतपुर अस्पतालको कोभिड आईसियुमा उपचाररत थिए । दीर्घरोगी समेत रहेका ती पुरूषमा फोक्सोको टिबीलगाएका विभिन्न स्वास्थ्य समस्या रहेकाे अस्पतालले जनाएकाे छ ।
दुईदिन अघि मंगलबार खैरहनी नगरपालिका ३ की काेराेना संक्रमित १ सय ८ वर्षीया वृद्वाकाे मृत्यु भएकाे थियाे । यसअघि चितवनमा संक्रमण पुष्टि भएका मध्य एक जना जिल्ला बाहिरका सहित दुई जनाको मृत्यु भएको थियाे ।
कोरोना संक्रमित भरतपुर महानगरपालिका-११ का ६८ वर्षीय वृद्वकाे जेठ २७ गते बिहान ७ बजेर ५ मिनेटमा भरतपुर अस्पतालको आईसीयूमा उपचारकाे क्रममा निधन भएको थियाे ।




