सर्लाही । स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्र कुनै पनि बहानामा रोकिनु हुँदैन भन्ने मान्यता लोकतान्त्रिक समाजको आधारभूत सर्त हो। लालबन्दी नगर अस्पतालको ओपिडी सेवा आइतबार पनि सुचारु हुनुपर्छ भनी उठाइएको आवाज कुनै राजनीतिक स्टन्ट वा कसैलाई व्यक्तिगत चोट पु¥याउने नियतले प्रेरित थिएन। तर, विडम्बना! एउटा शुद्ध नागरिक चासोलाई ’राजनीतिको चश्मा’ बाट हेरेर व्यवस्थापन र कर्मचारी वृत्तमा जुन खालको भ्रम फैलाउने काम गरियो, त्यसले गम्भीर प्रश्न उब्जाएको छ।
माग व्यवस्थापनको, प्रपञ्च बेमेलको
नागरिक तहबाट उठाइएको माग स्पष्ट थियो— लालबन्दी नगरले आफ्नै व्यवस्थापनमा हप्तामा ६ दिन ओपिडी सेवा दिएर देशकै लागि एउटा ’नमुना नजिर’ किन नबसाल्ने? संघीय सरकारको निर्णयको हवाला दिँदै सेवा कटौती गर्नुभन्दा स्थानीय आवश्यकता र क्षमतालाई हेरेर सेवा विस्तार गर्नु जनप्रतिनिधिको दायित्व हुनुपर्ने हो। तर, यहाँ माग र विषयमाथि छलफल गर्नुको सट्टा व्यवस्थापन पक्षबाटै बेवास्ता गर्ने र कर्मचारीहरूलाई नागरिक विरुद्ध उचाल्ने प्रपञ्च रचिएको देखिनु दुःखद छ।
स्वास्थ्यकर्मीः हाम्रा शत्रु कि सहयात्री..?
अस्पताल पुग्दा केही स्वास्थ्यकर्मीको उल्टो प्रतिक्रिया र एक सरसफाइ कर्मचारीको अमर्यादित व्यवहारले मलाई अचम्मित बनायो। ती कर्मचारी मित्रहरूलाई लाग्न सक्छ कि यो अभियान उहाँहरूको सुविधा कटौतीका लागि हो। तर सत्य के हो भने, स्वास्थ्यकर्मी पीडामा पर्दा र उनीहरूको हकहितको कुरा उठ्दा बोल्ने हामी नै हौँ। हाम्रो मागले कर्मचारीको ’श्रम मार्नुपर्छ’ कहिल्यै भनेको छैन ।
हाम्रो तर्क स्पष्ट छ— कर्मचारीका सुविधा र प्रशासनिक समस्याहरू टेबुलमा बसेर मिलाउन सकिन्छ, तर बिरामीले पाउने सेवा रोकिनु हुँदैन। स्वास्थ्यकर्मीहरू नगर अस्पतालका मेरुदण्ड हुन्, उनीहरूलाई मेनुपुलेट गरेर नागरिकको विरुद्धमा उभ्याउनु व्यवस्थापनको नैतिक पराजय हो। कर्मचारी साथीहरूले बुझ्नुपर्छ, सेवाको निरन्तरताले नै उहाँहरूको सामाजिक मर्यादा र पेशागत गौरवलाई थप उँचो बनाउँछ ।
नीति र नियतको द्वन्द्व
सरकारले आइतबार ओपिडी बन्द गर्नैपर्छ भनेर अनिवार्य गरेको छैन । स्थानीय सरकारले आफ्नो स्रोत–साधनले भ्याएसम्म सेवालाई चुस्त बनाउन सक्छ । लालबन्दी नगर अस्पतालले ६ दिन सेवा दिँदा यसको साख नेपालभरि बढ्ने थियो। तर, बोधार्थ बुझने पदाधिकारीहरूको बोलीमा आएको बदलाव र रहस्यमय मौनताले संकेत गर्छ— यहाँ नागरिकको हितभन्दा राजनीतिको ’सेफ ल्यान्डिङ’ खोजिँदैछ ।
निगरानी जारी छ
हामीलाई कसैले उचालेको होइन, न त कसैको वैयक्तिक विरोध नै हो । हामीसँग सयौँ युवा र हजारौँ सचेत नागरिकको साथ छ। त्यसैले, सुरक्षाको चिन्ता वा कसले साथ देला भन्ने डर हामीलाई छैन। हाम्रो एउटै चिन्ता हो— बेवास्ता गर्दा कतै ठूलो दुर्घटना नहोस् ।
नगरमा भएका राम्रा कामको समर्थन गर्न हामी जति उदार छौँ, गलत प्रवृत्तिको विरोधमा त्यति नै चट्टानी अडानमा छौँ। यदि नागरिक स्तरबाट केही सहयोग गरेर अस्पताल चलाउन सकिन्छ भने हामी श्रम र पसिना बगाउन तयार छौँ, तर सेवा ठप्प पारेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई छैन ।
अन्त्यमा,
अस्पताल एउटा यस्तो साझा थलो बनोस् जहाँ कर्मचारीको पेशागत सुरक्षा र नागरिकको स्वास्थ्य अधिकार एकअर्काका परिपूरक बनुन्। कसैको दबाब वा मेनुपुलेसनमा परेर नागरिकलाई ’औँला तेस्र्याउनु’ भन्दा सेवाको हात फैलाउनु नै वास्तविक राष्ट्रसेवा हो। हाम्रो आवाज तबसम्म दबिने छैन, जबसम्म लालबन्दीका नागरिकले बिना अवरोध गुणस्तरीय स्वास्थ्य सेवा पाउँदैनन् ।
नागरिक खबरदारी जारी छ ।








