सर्लाही — विपन्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले ईश्वरपुर नगरपालिकामा नगर स्तरीय विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रममा नगर प्रमुख मनोज कुमार आचार्यले अभियानको उद्घाटन गर्दै औपचारिक शुभारम्भ गर्नुभयो ।
अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले ८ वटा सामुदायिक विद्यालयलाई ई–रिक्सा हस्तान्तरण गरेको छ । ई–रिक्सा मार्फत गाउँ–गाउँमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य राखिएको छ ।
ई–रिक्सा प्राप्त गर्ने विद्यालयहरूमा श्री जनता प्राथमिक विद्यालय सागरनाथ (ईश्वरपुर–४), चन्द्रकमारी प्राथमिक विद्यालय धनपट्टीडाँडा (ईश्वरपुर–७), जनता प्राथमिक विद्यालय खोरियाटोल (ईश्वरपुर–९), जनशक्ति प्राथमिक विद्यालय बेला (ईश्वरपुर–१०), जनता माध्यमिक विद्यालय करमोहान (ईश्वरपुर–११), जनता प्राथमिक विद्यालय नयाँटोल (ईश्वरपुर–१२), जनता आधारभूत विद्यालय घाटटाल (ईश्वरपुर–१३) र जनता प्राथमिक विद्यालय हरकठवा (ईश्वरपुर–१४) रहेका छन् ।
विद्यालयहरुलाई १० देखि १२ जना अट्ने ई–रिक्सा प्रदान गरिएको हो । ई–रिक्सा सञ्चालनका लागि विद्यालयका कार्यालय सहयोगी र बाल विकास शिक्षकलाई १० दिने तालिमसमेत प्रदान गरिएको ईश्वरपुर नगरपालिका कार्यालयले छ ।
सामुदायिक विद्यालयलाई टाढाका विद्यार्थी विद्यालयसम्म ल्याउन सहजहोस् र सबै बालबालीकालाई विधालय ल्याउन सकीयोस भन्ने उद्देश्यसहित ई–रिक्सा प्रदान गरिएको नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभयो । नगरप्रमुख आचार्य, उपप्रमुख रन्जितादेवी चौधरीलगायत भएर सम्वन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई ई–रिक्सा हस्तान्तरण गर्नुभएको छ ।
“पढौं लेखौं फरर, ई–रिक्सामा विद्यालय सरर” भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार ई–रिक्सा प्रयोगले दुर्गम बस्तीका बालबालिकालाई विद्यालयसम्म ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।
यसै अवसरमा शैक्षिक सत्र २०८२ मा अनिवार्य अवकाश प्राप्त विभिन्न विद्यालयका शिक्षकहरूलाई सम्मानसमेत गरिएको थियो । अभियानले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षामा जोड्दै साक्षरता दर वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।





