सर्लाही । मधेश प्रदेश सरकारले अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।
चुरेपाखाको फेदीमा पर्ने लालबन्दी नगरपालिका–११, बाहुनी चोकदेखि सेतीभीर हुँदै लालबन्दी १५ को सतभैया, चिसापानी, परवानीपुर, झरझरा, देउरालीबाट ईश्वरपुर नगरपालिका–१२, घारिबथानसम्मको सडक कालोपत्रे भएको हो ।
पूर्वपश्चिम राजमार्गको विकल्पको रुपमा चुरेपाखा तल कालोपत्रे सडक निर्माण भएसँगै स्थानीय खुसी भएका छन् । अब घारिबथानदेखिका स्थानीयलाई चुरेपाखाको फेदी नै फेदी भएर लालबन्दी बजारसम्म कालोपत्रे सडक हुँदै आउन हुने भएको छ ।
अहिले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा धुलाम्मे रहेकाले घारिबथान, परवानीपुर क्षेत्रका धेरैजसो स्थानीयले लालबन्दी बजारसम्म आउन भर्खरै कालोपत्रे भएको बाहुनी–परवानीपुर–घारिबथान सडक नै प्रयोग गर्न थालेका छन् ।
यही सडक भएर यात्रा गर्नुभएका ईश्वरपुर नगरपालिका–१२, घारिबथानका गणेश बुढाथोकीले विकट क्षेत्रमा पक्की सडक भएसँगै यात्रा गर्न सहज भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
चुरेफेदीका गाउँहरुमा क्रमिक रुपमा पक्की सडक पुगेर जनजीवन सहज भए पनि खानेपानी र सिँचाईको असाध्य समस्या भएकाले यसतर्फ पनि ध्यान दिन उहाँले सम्वन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरखबहादुर बलले बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएसँगै चुरेफेदीका गाउँको मुहार फेरिएको बताउनुभयो ।
यसअघि ग्राभेल बाटो रहेको ठाउँमा अहिले पक्की सडक बनेसँगै लालबन्दी बजारसम्म आउन तथा तरकारी र अन्य कृषि उपज बिक्रीका लागि ल्याउन सहज भएको वडाध्यक्ष बलले जानकारी दिनुभयोे ।
वडाध्यक्ष बलका अनुसार बाहुनी चोकदेखि घारिबथानसम्मको सडक खण्ड अन्तर्गत अब लालबन्दी १५ मा पर्ने देउराली डाँडादेखि फूलजोर खोलासम्म करिव ५०० मिटर सडक भने कालोपत्रे हुन बाँकी छ ।




