चितवन । नेपाली कांग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनले आयोजना गरेको विरोधसभामा उहाँले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ ।” कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उहाँको भनाइ थियो ।
सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उहाँले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।”
कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोल्नुभएको थियो ।




