गोविन्द घिमिरे
गैँडाकोट। विश्व वातावरण दिवसको अवसरमा वातावरण विकास तथा अनुसन्धान केन्द्र नवलपुरको आयोजनामा धार्मिक तिर्थस्थल नवलपुरको मौलाकालिका मन्दिर परिसरमा शुक्रबार बृक्षारोपण गरिएको छ । कपुर,अनार,रानीवेल, रिठो, म्याङगोट्रि, लप्सी लगायत विभिन्न जातका ६३ वटा विरुवा सो अवसरमा लगाईएको हो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको प्रमुख आतिथ्यता तथा वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चालिसेको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले बृक्षारोपण गर्दै विरुवा लगाउनु मात्र ठुलो कुरा नभई तिनको उचित रुपमा रेखदेख तथा संरक्षण गर्नु महत्वपुर्ण पाटो भएको विचार राखेका थिए ।
साथै उनले युवाहरुको पहलमा वातावरण संरक्षणका लागी भएका यस्ता कामले समाजमा सकरात्मक सन्देश प्रवाह भएको भन्दै आगामी दिनमा समेत संरक्षणका क्षेत्रमा केन्द्रले पहल गर्ने विश्वास ब्यक्त गरे । सो अवसरमा बोल्दै वातावरण विकास तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक कृष्ण कंडेलले वातावरणको क्षेत्रमा काम गर्नकै लागी संस्थाको जन्म भएको बताउँदै दिवसको अवसरमा बृक्षारोपण गरिएको भएतापनि संस्थाले आगामी दिनमा समेत बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए।
जनघनत्व बढ्दै जाँदा मावववस्तीमा समेत ग्रीनरी क्षेत्रको महसुस भएको बताँउदै हरेक नगरवासीले कम्तिमा दुईवटा भएपनि विरुवा रोपेर आ आफै संरक्षणको क्षेत्रमा सहयोग गर्नेबेला आएको धारणा राखे । केन्द्रका अध्यक्ष थानेश्वर चालिसेले पृथ्वीमा रहेका सवै मानिसले वातावरण संरक्षणका लागि जिम्मेवारी बोध गर्नुपर्ने र प्रत्येक व्यक्तिले वातावरण संरक्षणका कार्यबारे जानकारी लिने र सोच्ने बानीको विकास गरेको खण्डमा वातावरण दिवस मनाएको औचित्य पुरा हुने बताए । उनले मानवीय क्रियाकलापका कारण वातावरणमा असर परिरहेकाले त्यसतर्फ युवाहरु सचेत हुनुपर्ने विचार राखे ।
बृक्षारोपण कार्यक्रममा युवा नेता केपी शर्मा , लायन्स क्लव अफ गैडाकोट कालीगण्डकीका अध्यक्ष भोजराज भुषाल , लायन देशवन्धु सिग्देल संस्थाका सदस्यहरु गोविन्द घिमिरे, ध्रुव अधिकारी, तारानाथ अधिकारी,शिव भुसाल, भुमिश्वर पौडेल, रमेश ढकाल , लक्ष्मण कडेल लगायतको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।




