चितवन । भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा विक्री केन्द्र निर्माणका लागि बिहीवार शिलान्यास गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रमअनुसार बागमती प्रदेशको लघु, घरेलु तथा साना उद्योगको उत्पादन विक्रीका लागि केन्द्र निर्माण गर्न लागिएको हो । चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष हरिप्रसाद सुवेदी र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल तथा घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्सालले संयुक्त रूपमा शिलान्यास गरे । उक्त कार्यक्रममा श्रीराम वैदिक गुरुकुलम्, रत्ननगर, जंगमंगलाका पण्डित मेघनाथ अधिकारीले धार्मिक परम्परा अनुसार
पाठपूजा गरे ।
विक्री केन्द्र निर्माण सम्पन्न भएपछि बजारमा पहुँच नपुगेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजारीकरणमा सहज हुने र उद्यमीहरूलाई समेत प्रोत्साहन मिल्ने चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताए । शिलान्यास कार्यक्रममा गभर्निङ काउन्सिलका उपाध्यक्ष सोमराज मरहठ्ठा, घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्साल, पूर्वप्रमुख रमेश कर्माचार्यका साथै चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।
ॐ सत्य साई कन्स्ट्रक्शन प्रालि भरतपुरले निर्माण जिम्मा पाएको उक्त परियोजनाको डिजाइन कन्सल्टिङ कम्पनी मौलाकालिका सिभिल वर्कसले गरेको छ ।




