चितवन । कोभिड-१९ को महामारी पश्चात् चैत्र ११ गतेबाट प्रारम्भ भएको लकडाउनको बाह्रौं दिन अर्थात् चैत्र २२ गतेबाट एस.ई.ई. का विधार्थीहरुका लागि सुरु गरिएको ‘जुम’ अनलाइन शिक्षण क्रमशः कक्षा एक देखि दशसम्म प्रभावकारी रुपमा विस्तारित रहेको छ ।
प्रारम्भिक चरणमा देशका विभिन्न विद्यालयहरुमा ‘अनलाइन शिक्षण ‘सहजीकरण गर्दै गरेका सह-प्राचार्य ओमराज मैनालीले वैशाख १५ गतेदेखि शिक्षकहरुको चरणबद्ध अभिमुखीकरण पश्चात् संस्थागत रुपमा नै प्रभावकारीरुपमा अनलाइन शिक्षण जारी गराईँदै आएको जानकारी दिएका छन्।
शुरुवातका दिनहरुमा ‘अनलाइन कक्षा: शुल्क उठाउने बहाना’ को नकारात्मक टिप्पणी खेप्नु परेको थियो जुन सामाजिक सञ्जालमा अर्किड स्कूलले ‘निःशुल्क कक्षा’ को घोषणापछि विद्यालयले वाहवाही पाएको थियो भन्छन् – सह-प्राचार्य ओमराज मैनाली। चरणबद्धरुपमा अनलाइन अभिभावक अन्तर्कृया, शिक्षक तालिम, अतिरिक्त क्रियाकलाप, ध्यान र योग कक्षा, हस्तलेखन, नृत्य र संगीत, वाचन कला, हस्तकला आदि कक्षाहरु समेत अनलाइन शिक्षण मार्फत् सञ्चालित छन्।
शिक्षकहरुलाई अनलाइन कक्षा शिक्षणको अतिरिक्त पारिश्रमिक प्रदान गर्दै आएको अर्किड स्कुलले दैनिक २ घण्टा कक्षाको अतिरिक्त ‘गूगल क्लासरूम’ मार्फत् अनलाइन परीक्षा र नियमित गृहकार्यको प्रभावकारी अभ्यास गर्दै आएको छ। अनलाइन मार्फत् एस.क्यु.सी र जिल्ला स्तरीय स्क्रयाबल अभिमुखीकरण सम्पन्न गरिसकेको विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘असारे गीत प्रतियोगिता’ मेरो लकडाउन डायरी ‘जस्ता सिर्जनात्मक कार्यक्रमहरु ल्याएको छ ।




