कोभिरा, हाल चलिरहेको कोभिड–१९ महामारीको जोखिम मूल्याङ्कन गर्ने विधि हो । यसमा कुनै पनि व्यक्तिले आफ्ना बारेमा सोधिएका केही प्रश्नको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मूल्याङ्कन गर्न सकिनेछ । यसका साथै आफू बसिरहेको क्षेत्रमा कोरोना सर्नसक्ने जोखिमको अवस्था के छ र आफूलाई सर्न सक्ने जोखिम कति छ भन्नेबारे पनि मूल्याङ्कन गर्नेछ ।
यससँगै नेपालका विभिन्न ठाउँमा विविध कारण हुनसक्ने जोखिम मूल्याङ्कन नक्सा पनि राखिएको छ । सामाजिक, आर्थिक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा रहेको ‘टोटल रिस्क’ बटनमा ‘क्लिक’ गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ । कोभिड–१९ को दैनिक अपडेटपश्चात क्षेत्रगत जोखिम परिवर्तन हुनेछन् । यसबाट दैनिकरुपमा जोखिम नक्सा हेर्न सकिनेछ ।
व्यक्तिगत जोखिम मूल्याङ्कन विधि चीन, इटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६० हजार व्यक्तिको तथ्याङ्कलाई केलाएर बनाइएको हो । व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दीर्घ रोगमा आधारित छ भने सर्नसक्ने जोखिम, स्थानीयस्तरमा कोरोना सर्ने जोखिम तथा व्यक्तिको आफ्ना क्रियाकलापमा निर्भर गर्दछ । यसले जोखिमलाई पाँच तहमा देखाउँछ, अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च । बीचमा रहेको सुईले जुन भागमा देखाउँछ, त्यो नै जोखिमको स्तर हुनेछ । कुन अवस्थामा के गर्ने भन्ने सुझाव पनि यसले देखाउनेछ । नेपाल इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष त्रिरत्न बज्राचार्यले वेवनारमार्फत सो ‘एप्लिकेसन’ सार्वजनिक गर्नुभएको हो ।




