छोटो समयमा नै चितवनको शैक्षिक क्षेत्रमा एक पृथक पहिचान बनाउन सफल, ‘अन्तराष्ट्रिय स्कुल अवार्ड’, ‘एस.एल.सी. जिल्ला प्रथम’, ‘सर्वोत्कृष्ट विद्यालय पुरस्कार’, आदिबाट पुरस्कृत चितवनको अग्रणी शैक्षिक संस्था अर्किड स्कूल, भरतपुरका सह-प्राचार्य श्री ओमराज मैनालीसँग ‘चितवन खबर’ को शैक्षिक संवाद :
१) ‘चितवन खबर’ सँगको शैक्षिक संवादमा यहाँलाई हार्दिक स्वागत छ ।
हजुर, धन्यवाद ।
२) यो महामारीको संकटको बीचमा यहाँको विद्यालयले विधार्थीहरूको शिक्षालाई कसरी व्यवस्थापन गरेको छ ?
चैत्र ११ गतेको बन्दाबन्दी लगत्तै चैत्र २२ गतेदेखि नै एस. ई. ई. का विधार्थीहरूको लागि संस्थागत रुपमा नै ‘जुम’ अनलाइन कक्षा संचालन गरिएको अवस्था हो। कक्षा १ देखि १० सम्म नै वैशाख १५ गतेदेखि नै दैनिक २ घण्टा जुम अनलाइन शिक्षण भइरहेको छ। गृहकार्य र अरु पठन सामाग्री दैनिक शिक्षण पश्चात् ‘गूगल क्लासरूम’ मार्फत् दिइएको छ। त्यसैगरी दैनिक रूपमा नै अनलाइन कक्षामा अनुपस्थित विधार्थीहरूलाई फोन गर्ने, कारण पहिचान गरी अनलाइन कक्षामा संलग्न गराइएको छ। बाँकी केही विधार्थीहरू जो अनलाइन कक्षामा संलग्न हुन सकेका छैनन्, उनीहरूको निम्ति दूर शिक्षा, स्थानीय टेलिभिजन, एफ. एम. आदिबाट प्रसारित दूर शिक्षा कार्यक्रममा मार्ग प्रदर्शन गरिएको छ।त्यसैगरी नर्सरीदेखि कक्षा पाँचसम्म प्रथम चरणमा ‘वर्कशीट’ तयार गरी वितरण गरिंदै छ।
३) अनलाइन कक्षा वा अन्य पठन सामग्री वितरण सम्बन्धी आर्थिक पक्षलाई कसरी व्यवस्थापन गरिएको छ ?
यो विश्वव्यापी संकटमा मानवताको खोला धमिल्याउनु हुँदैन भन्ने हाम्रो मान्यता हो। मतलब के हो भने, हामीले आफ्ना विद्यार्थीहरूको मनोविज्ञान, उनीहरूको शिक्षाप्रति गम्भीर भएर सोचेका छौं। अनलाइन शिक्षण वा अन्य पठन सामग्रीको एक पैसा पनि लिएका छैनौं। तपाईंहरू देख्नहुन्छ- समाचारहरूमा कि ‘अर्किड स्कूलको नि:शुल्क अनलाइन शिक्षण’ भनेर ।
बरू, विद्यालय सञ्चालक समितिले अनलाइन कक्षा शिक्षण गराए बापत् आफ्ना शिक्षकहरुलाई थप पारिश्रमिक (प्रति कक्षा) प्रदान गरिरहेको छ र सबै शिक्षक-कर्मचारीहरूलाई पेश्की स्वरूप केही तलब समेत प्रदान गरिरहेको छ। यस्तो विपदमा आफ्ना
शिक्षक-कर्मचारीको चूल्हो निभ्न नदिनु नै कुशल नेतृत्वको महानता हो।
४) नयाँ भर्नाको समयमा सधैँ खचाखच हुने यहाँको विद्यालयमा अहिले महामारीको समयमा के-कस्तो अवस्था छ ? नव-आगन्तुक विधार्थीहरूको शिक्षालाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
यहाँले जे देख्नु भयो, त्यही भन्नु भयो। हो, सधैँ भर्नाको समयमा खचाखच हुने विद्यालयको हालको अवस्था यो महामारी र बन्दाबन्दीले निश्चित रूपमा नै प्रभावित रहेको छ। यो विश्वव्यापी रूपमा परेको असरबाट हामी पनि प्रभावित छौं । यद्यपि निराशाजनक स्थिति भने छैन । नि:शुल्क रूपमै आकांक्षी नव-आगन्तुक विधार्थीहरूको रजिस्ट्रेशन पश्चात् अनलाइन कक्षाहरूमा उनीहरूलाई सहभागी गराइएको छ। करीब १५०० विधार्थी अध्ययनरत रहेको विद्यालयमा विधार्थी संख्याको अलिअलि घटबढ भइहालेछ भने पनि हामी आत्तिदैनौं। किनकि, हामी संख्यात्मक भन्दा गुणात्मक पक्षलाई बढी जोड दिन्छौं ।
५) अनलाइन समाचार र सामाजिक सञ्जालमा अर्किड स्कूलको पृथक र नयाँ स्वादका अतिरिक्त क्रियाकलाप देखिन्छ । यसबारे केही भनिदिनुहोस् न !
अर्किड स्कूलमा शैक्षिक गतिविधि अन्तर्गत दैनिक पठन-पाठनका अतिरिक्त अन्य समय सान्दर्भिक अतिरिक्त क्रियाकलापहरू सम्पन्न हुने गर्दछ। विगत चैत्र महिनादेखि नै विशेष कार्यक्रमका रूपमा ‘अनलक योर क्रिएटीभिटी एट लकडाउन’ नामक प्रतिस्पर्धा अन्तर्गत विधार्थीहरूले गायन, नृत्य, कलात्मक सिर्जना, चित्रकला, वक्तृत्वकला, लकडाउन डायरी, असारे गीत प्रतियोगिता, आदि सम्पन्न हुँदै आइरहेको छ। अतिरिक्त क्रियाकलाप संयोजकको संयोजकत्वमा विद्यालयले यी अनुपम कार्यक्रमहरु प्रस्तुत गरिरहेको छ ।
थप कुरा म के थप्न चाहन्छु भने, दैनिक अनलाइन शिक्षणमा समेत ध्यान र योगा, हस्तलेखन, चित्रकला, संगीत, नृत्य, वाचनकला, आदि समेत नियमित रूपमा सञ्चालन गर्दै आइरहेका छौं ।
६) महामारी पश्चात् अथवा बन्दाबन्दी पछि सामान्य जनजीवनको परिवेशमा विद्यालय शिक्षालाई कसरी व्यवस्थापन गर्ने योजना गर्नुभएको छ ?
‘महामारी पश्चात्’ त नभनौं किनकि थाहा छैन यो स्थिति कहिलेसम्म रहिरहने हो । बन्दाबन्दी पश्चात् अथवा अलि सामान्य जनजीवनको परिवेशमा समेत विद्यालय सञ्चालन पहिलाको जस्तो तौर-तरिकामा संभव छैन । पहिला त हामीले सम्पूर्ण पूर्वाधार तयार गर्नुपर्छ – कोरोना संक्रमणबाट बच्नको लागि । त्यसैगरी अभिभाकहरूलाई सुनिश्चित गर्नुपर्छ कि -उहाँहरुले आफ्ना आँखाका नानी (छोराछोरी) विद्यालय पठाउँदै गर्दा सुरक्षित रहने छन् ।
विद्यालय व्यवस्थापनले महामारी पश्चात् को शैक्षिक व्यवस्थापनमा निम्न उल्लेखित उपायहरू अवलम्बन गर्न सक्ने छ:
क) प्रवेशद्वार देखि विद्यालयका विभिन्न स्थलहरूमा ‘स्यानिटाइजिङ्ग बुथ’ निर्माण।
ख) व्यक्तिगत सरसफाइ (हात धुन) को लागि उल्लेख्य संरचना र नियमन ।
ग) हरेक कक्षाकोठामा निश्चित (मापदण्ड अनुरुपको) दूरी कायम गराइ विधार्थीको लागि छुट्टाछुट्टै एकल डेस्कबेञ्च ।
घ) अभिभाक स्वयंले नै सुरक्षित यातायातको बन्दोबस्त मिलाउनु पर्ने । अथवा, स्कुल बस स्यानिटाइजिङ्ग गर्दै सुरक्षित रुपमा एक पंक्ति एक विधार्थी राखी यातायात व्यवस्थापन गर्न सकिन्छ ।
ङ) विधार्थीको घनत्व हेरी दुइ वा तीन सिफ्टमा कक्षा सञ्चालन । अथवा, समुहगत रुपमा विधार्थीको विभाजन गरी एक दिन बिराइ पठन-पाठन ।
च) साप्ताहिक वा हप्ताको दुइपटक विधार्थीको उपस्थिति गराई, पठन सामग्री वितरण सहित विशेष कक्षाको व्यवस्थापन ।
छ) शिक्षक-कर्मचारी पनि सुरक्षित रूपमा उपस्थित भई आफ्नो सिफ्टमा पठन-पाठन गराउने ।
ज) अनावश्यक आवागमन निषेध गर्ने ।
झ) घरबाट नै खाजा ल्याउन अनिवार्य गर्ने ।
ञ) परामर्श, अभिभावक भेट, लेखा आदि कार्यहरूका लागि अनलाइन सेवाको व्यवस्थापन गर्ने ।
ट) बाह्य अतिरिक्त क्रियाकलाप, प्रार्थना, आदि भीड हुने गतिविधिहरू निषेध गर्ने ।
केही समय पश्चात् यस्तै सुरक्षाका उपायहरू अवलम्बन गर्दै कक्षा सञ्चालन गर्न सकिन्छ । त्यसको निमित्त विद्यालय व्यवस्थापन र अभिभावकको राम्रो समन्वय र समझदारी हुनु जरूरी छ ।
७) चितवन खबरको ‘शैक्षिक संवाद’ मा यहाँको समय र विचारको लागि हार्दिक धन्यवाद ।
मलाई पनि आफ्नो विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा ‘चितवन खबर’ परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद !




