मलंगवा, सर्लाही । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला मञ्च सर्लाहीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
मञ्चका अध्यक्ष भवानी घिमिरे को नेतृत्व मा गएको मन्चका पदाधिकारी को टोलि ले प्रमुख जिल्ला अधिकारी बिजय राज सुवेदी लाई भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन । पत्रमा भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, मोही किसान, कृषि श्रमिक तथा साना किसानहरूको भूमि अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। मञ्चले जिल्लाका विभिन्न स्थानीय तहमा संगठित रूपमा भूमि अधिकार अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

मञ्चका अनुसार सर्लाही जिल्लाका ३ नगरपालिका र ९ गाउँपालिकाका ५८ वटा गाउँ मञ्चमार्फत ७ हजारभन्दा बढी सदस्य संगठित भएका छन्। सुरक्षित आवास, खेतीयोग्य जमिन र त्यसको उत्पादनबाट आत्मनिर्भर किसान समाज निर्माण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन भइरहेको पत्रमा उल्लेख छ।
ध्यानाकर्षण पत्रमार्फत मञ्चले पाँच बुँदे माग अघि सारेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको छुट भएका परिवारलाई फाराम भर्ने वातावरण सिर्जना गरी सूचना प्रकाशन गर्न, जग्गा वितरण गर्दा बसोबास र खेती दुवै प्रयोजनका लागि पर्याप्त जग्गा उपलब्ध गराउन तथा स्थानीय तह र जिल्ला स्तरका सहजीकरण समितिमा भूमि अधिकार मञ्चको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।

त्यसैगरी, जिल्ला भूमि समस्या समाधान समितिको बैठकमा मञ्चका पदाधिकारीलाई अनिवार्य प्रतिनिधित्व गराउन तथा जग्गा नापजाँच सम्पन्न भएका क्षेत्रहरूमा लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिनुपर्ने माग पनि गरिएको छ। साथै लगत संकलन, प्रमाणीकरण, लगत प्रविष्टिकरण र निस्सा वितरणको कामलाई समेत छिटो अगाडि बढाउन प्रशासन तथा स्थानीय तहसँग आग्रह गरिएको छ।
भूमि अधिकारसम्बन्धी नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी वास्तविक भूमिहीन तथा सुकुम्बासी नागरिकको अधिकार सुनिश्चित गर्न मञ्चले सरोकारवाला निकायसँग माग गरेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै आफू भर्खरै जिल्ला मा आएको हुदा वास्तविक यथार्थ बुझी समस्या समाधान गर्ने कार्य मा आफू ले सक्दो सहयोग पुर्याउने र त्यस कार्यमा मंचको पनि सहयोग खाचो रहने हुदा त्यस कार्यमा सहयोग पुर्याउन सिडियो प्रमुख जिल्ला अधिकारी सुबेदि ले बताउनु भएको मंचकी अध्यक्ष घिमिरे ले बताईन ।
ध्यानाकर्षण पत्र बुझाउन मंचकाअध्यक्ष भवानी घिमिरेका साथ मा पुर्ब जिल्ला अध्यक्ष जित बहादुर गोले ,प्रदेश सचिब मदन बिश्वकर्मा लगाएत को टोलि जिल्ला सदरमुकाम पुगेर पत्र बुझाएका हुन ।




