काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले पार्टीको महाधिवेशन आगामी फागुनमा गर्ने निर्ओय गरेको छ । कोरोना सङ्क्रमण जोखिमको कारण तीन महिना पार्टीको कुनै गतिविधि नभए पनि केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।
सोमबार केन्द्रीय कार्यसमितिको सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ । महाधिवेशनका लागि नयाँ प्रस्तावित तालिकामा क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानबिन प्रकृया सकेर मंसिर मसान्तभित्र सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने उल्लेख छ ।
पार्टीका अन्तरिम संरचनासमेत अझै समायोजन भइसकेका छैनन् । जसले महाधिवेशनको तयारी अघि बढाउन कठिनाई परेको छ । पुरानो राज्य संरचनाका आधारमा रहेको पार्टीका संरचनालाई समायोजन गर्न कांग्रेसले मंसिरदेखि नै सुरु गरेको हो । २६ जिल्लाको समायोजन हुन अझै बाँकी छन् । समायोजन नभएका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य हुन सकेको छैन ।
प्रस्तावित नागरिकता विधेयक र केन्द्रीय महाधिवेशनको तालिकासम्बन्धी एजेण्डा राखेर असार १६ गतेदेखि कांग्रेस बैठक सुरु भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट अघि बढाएको नागरिकता विधेयक १६ गतेकै बैठकले फिर्ता लिनुपर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समितिको सोमबार बसेको बैठकले महाधिवेशनको तालिका परिमार्जन गरी केन्द्रीय अधिवेशन आगामी फागुन ७, ८, ९ र १० गर्ने निर्णय गरेको छ । त्यसका लागि गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते, गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते, प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६ र प्रदेश अधिवेशन माघ ६ गते गर्ने गरी समय तालिका परिमार्जन गरेको छ ।




