टोलभरि त के सहरभरि नै उसको परिचय कालीकी आमा थियो । उसको नाम थर कसैलाई थाहा थियो भने केवल उसैलाई माञ थाहा थियो ।हिस्सी परेकी गुथुल्ली कालीलाई लिएर गुमनाम ठाउँबाट यो टोलमा आएकी थिई । कालीसगं उसकी आमा सँग आई र त उसलाई सबैले कालीकी आमा भनेर चिन्थे ।
एउटा टिनको छाप्रोमा दु:ख सुख जीवनको गुजारा चलाउँदै थिई कालीकी आमा । उसको वास्तबिक पेसा पनि गुमनाम थियो , उसको वास्तबिक नाम जस्तै। समय बित्तै गयो । जेनतेन उसले छोरीलाई हुर्काई बढाई ,ठुली बनाई र काली कलेज पढ्ने भई । कलेजमा कालीको छिमेकी हाकिमको छोरोसगं मायाप्रीतिको मुना पलायो ।
एककान दुईकान मैदान भनेजस्तै उनीहरुको माया सहरबजार गाउँटोल यत्रतत्र छताछुल्ल भयो । जमाना परिस्थिति बदलिएकाले हाकिम साहेबको प्रभुत्व केबल उनको टेबलमा मात्र हैकम चल्ने समय आएकोले तिनीहरुको प्रेमलाई हाकिमले स्वीकार गर्नै पर्नै अङ्कुस लाग्यो । त्यसलाई हाकिमले आलटाल गर्न सकेनन् । सरकारको रस खाएका हाकिमको अनुहार पोटिलो नहुने त कुरै थिएन तर छोरोको मायाप्रेम र उसको प्रेम बिबाहको शुभकार्यका दिन उसको निधारमा अनगिन्ती गाँठा पारिपारी उनीहरुको लगन गाँठो पारी दिए । काली “हाकिमकी बुहारीका “नामले सम्बोधन हुन थाली ।
कालीकी आमा “हाकिमकी सम्धिनी “भनेर चिनिन थाली । काली घुत्मुने छोरोको आमा बन्ने सुअवसर प्राप्त गरी। हाकिमलाई नातिको मायाले गर्दा कालीको माइत जाने क्रम बढ्यो कालीकी आमालाई सबैले सम्मान गर्न थाले हाकिमको सहयोग पाउने आशाले उसलाई टोलको अध्यक्ष, बचत समूहकी सदस्य आदि पद तथा समाज सेवीका रुपमा उसलाई सम्बोधन गर्न थालियो । सुनिन्छ आजकल त ऊ सानासाना कार्यक्रमको त प्रमुख अतिथि सम्मको सम्मान पाउन थालेकी छे रे आजकल राममाया यानेकी हाकिमकी सम्धिनी ।




