नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुप्राकृतिक देश हो । यतिले मात्र पुग्दैन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण, निश्चल, कलकल बग्ने कञ्चन नदी, स्वच्छ हावा पानी, अटल, चाँदी झै टल्किरहने हिमाल । त्यही हिमाल मुनि कर्किएका पहाडमै तपस्या गरेका महान ऋषिमुनिहरुले ज्ञान प्राप्त गरेको तपोभूमि, वैभवशाली सांस्कृतिक जलस्रोतको धनी देश हो बुद्धको देश, शान्तिको देश, मन्दिरै मन्दिरको देश । लडाकुको देश, वीरको देश हो । यतिले अझै पुग्दैन ।
नेपाल सार्वभौम सम्पन्न, राष्ट्रिय अखण्डता, राष्ट्रियता, कानुनी राज्य, विधिको विधान, धर्मनिरपेक्षता, समावेशिता, स्वतन्त्र न्यायपालिका, बहुलवाद, निश्पक्ष पत्रकारिता आदि इत्यादिले नारा यसैमा समतामूलक समाज, समाजिक न्याय, भ्रष्टाचारमा शून्य शहनशीलता, नागरिक समाज, मौलिक हक अधिकार,मानव अधिकार यस्तै थुर्पै नारामा नेपाल देश र नेपाली सुसज्जित छन् ।
भनेर भ्याई सकिन्न नेपालका बारेमा । नेपाली त्यसैमा गौरब गर्दछौं । गाँउ देखि सिंह दरबारसम्म यही नारा जपेर बसिरहेका छन् । हामी पनि त्यसैमा रमाइरहेका छौं । हरेका देशका नागरिकले आफ्ना राष्ट्रको बारेमा गर्ब गर्नु स्वाभाविक हो । तर, पनि अर्थ हिन नारा जपेर मात्र देशको विकास र समृद्धि हुन सक्दैन ।
वास्तवमा विश्वका कुनै पनि राज्यमा यति धेरै नारा छैनन् होला । विकसित देश र अविकसित देशमा फरक यति छ । हामी कुरा गर्दछौं, उनीहरु काम गर्छन् । नेपालमा काम भन्दा बढि, ठुला ठुला भाषण र झुटा आश्रासनले छिटाे बजार पाउछ ।
हाम्रा नीति नियमका भाषा अति नै मीठा र रसिला छन् । संविधानकै कुरा गरौं ।संविधानले कोही कसैको अधिकार पनि छुटाएको छैन । संविधान हो कि शब्दकोश । विश्वको शक्तिशाली राज्य अमेरिकाको संविधान सबैभन्दा छोटो छ । विश्वको विकसित र सभ्य देश बेलायतमा अलिखित संविधान छ । के संविधानमा भाषा लामो लेख्दैमा देशको विकास हुने हो ? प्रश्न खडा हुन्छ ,उत्तर कहा खाेज्ने हाे पत्ताे छैन।
यदि बहुधार्मिक, धर्मनिरपेक्षताको देश हो भने सबै धर्मलाई उतिकै समानरुपमा सम्मान लिनुप¥यो । यहाँ आफूलाई मन परेको धर्म ठीक, अरुको धर्मलाई तिरस्कार गर्ने भए कसरी भयो धार्मिक सहिष्णुताको देश ?
नेपाल विविध जाति र संस्कृति धनी हो भने थोत्रा, झुत्रेझाम्रे भए राउटेको उपमा दिने बाँदर खाने संस्कृतिलाई घृणा गर्ने मुलुकमा जात र संस्कृतिमा धनी छ भन्नु उपयुक्त होला कि नहोला ? हिमालको बख्खु, गून्यु चोलीदेखि लिएर तराईको गञ्जी, धोती, फरियाजस्ता पहिरनलाई अनौठो मान्ने नेपाली समाजलाई कसरी भेषभुषामा धनी छ भन्नु ।
अहिले पनि भारतबाट केही प्रतिशत विद्युत प्रयोग भएको राष्ट्रिय प्रसारण लाइनकै पर्याप्तता नभएको बर्षेनी खडेरीको चपेटामा परी लाखौं किसानको खेती प्रणालीमा बाधा पुगेको हाम्रो देश कसरी जलस्रोतको विश्वको धनी भयो ?
हामीसँग त स्रोत त थियो । तर, स्रोत उपयोग गर्ने तरिका र जनशक्ति नभए जलस्रोतको उपयोग गर्न सकिएन भन्दा एक तरिकाबाट ठीकैजस्तो लाग्छ । तर, हामीमाझ त सबै भएर पनि काम नगर्ने कामचोर प्रवृत्तिले गर्दा जति राम्रा नारा र कानून बनाए पनि पालना हुन नसक्ने रोग दिन प्रतिदिन बढिरहेको छ ।
प्रत्येक सरकारी कार्यालयमा छिटोछरितो नतिजामुखी प्रशासन यति मात्र होइन, घुस खाने र दिने महान शत्रु भनी नारा टाँस गरिएको हुन्छ । हाजिर गरे तलब पाक्यो । केही काम गरे भत्ता र घुसको आश गर्ने केही कर्मचारीको व्यवहारबाट यो पनि नारामै सीमित छ ।
हरेक पुलिस प्रशासनमा निर्दोष नपरोस् अपराधि नछुटोस् भन्ने धारणा छ तर यहाँ पहुँच भएकाले जस्तो अपराध गरे पनि छुटाएर निर्दोष समातिन्छ अनि प्रहरी प्रशासनको धारणालाइ कसरी विश्वास गर्ने ? न्यायपालिकाको विरोध गरे मानहानी हुन्छ रे । तर, न्ययापालिकामा भ्रष्ट्राचारी छिरेका छन् भने नि ? निमुखाहरुका लागि मात्र सजायँ दिने स्वतन्त्र, निपष्क्ष न्यायपालिका भनेर नारामा मात्रै सीमित हुनुहुँदैन ।
भारतीय प्रहरी दिनदाहाडै सीमा मिचिरहेको, दशगजाको ज्यादती टलुटुलु हेर्ने हामी कसरी वीर गोर्खालीका सन्तान भयौं ? नेपालका वीर, वीरङ्गाना अब कुरामा मात्रै सीमित छ ।अरू देशकाे प्रधानमन्त्रीले देशकाे हितकाे निम्ति कुरा गर्दा त्याहाका जनताहरू एकढिक्का भएर बाेल्छन अनि, हाम्राे चाहिँ आफ्नो पार्टिकाे मन्त्री हुदा समर्थन गर्छाै हैन भने भ्रम फैलाउने भन्दै उल्टै खनिन्छाै ,अनि कसरी भयाै त हामी देशभक्ति नेपाली ? आँफैलाई प्रश्न गराै?
के शिक्षाका उद्देश्य एक पेज लेख्दैमा देशमा शिक्षाको विकास हुने हो ? अवश्य पनि होइन । विकास हुन त सबैको हरेक क्षेत्रमा सकरात्मक विचार, नैतिकता, इमान्दारिता र अरुको पेशा र विचारप्रति सम्मान गर्ने कर्मठ, दृढ इच्छाशक्ति हुनुपर्छ ।
हामी बहुभाषी देशका नागरिक हौं भने त देशका बोलिने सबै भाषालाई उत्तिकैरुपमा सम्मान गर्नुप¥यो । कसैको भाषाका राम्रा कुरा अर्को भाषामा अश्लील अर्थ लाग्न सक्छ, त्यसमा हामीले सहज नलिई अरुको भाषालाई पनि सम्मान नलिए कसरी भयो बहुभाषी ? कर्णालीका मानिस खस भाषाको प्रयोग गर्दा भाषाको सम्मान गर्ने कि अपहेलनाको दृष्टिले तिरस्कार गर्ने ? आफूले प्रयोग गर्ने भाषा नै सर्वश्रेष्ठ ठान्ने मुलुकमा भाषाको धनी कसरी भन्ने ?
हरेक वर्ष शिक्षामा एउटा नयाँ नारा तय गर्छन् । जस्तो– राजा वीरेन्द्रकै पालामा २०३१ सालमा शिक्षाको उज्यालो घामबाट कुनै बालबालिका बञ्चित हुन नपरोस् भन्ने नारा लगाइएको थियो । आज आज ३६ वर्ष पुग्दा पनि अझै विद्यालय बाहिर झन्डै ४ प्रतिशत बालबालिका छन् । कति नयाँ–नयाँ नारा छन् । तर सबै नारामै सीमित छन् ।
हरेक वर्षकाे बजेटमा शिक्षित युवालाइ नेपाल भित्रै राेजगारीकाे निम्ति भन्दै अरबाै बजेट छुट्याइएको पाइन्छ ।तर त्यि बजेट उचित ठाउमा प्रयाेग भयाे -भएन ,बजेटले सार्थकता पायाे कि पाएन भन्नी कुरा कसैलाइ हेक्का छैन । अहिले हाल पढिरकेका र पढाइ सकेर बसिरहेका शिक्षित जनशक्ति पनि अाफ्नाे पढाइमा खासै सन्ताेषजनक देखिन्न ,कारण देशमा राेजगारी सुनिश्चित छैन । लाखाै लगानी गरेर पढाइ सकेपनि अब भाेलीकाे भविष्य कता तिर हाे भन्न सकिने अवस्था बिलकुलै छैन ।
मेराे ब्याक्तिगत कुरा गर्नु पर्दा म एक साधारण परिवारकाे सदस्य ,हाल ब्याचलर लेभलकाे अन्तिम बर्षकाे बिधार्थी हु, पढाइ त जसाे तसाे सक्किएला तर सक्किएर पनि के गर्नु देशमा राेजगारीकाे अवसर अत्यन्तै कम छ ,यदि राेजगारी पाइहाले भने पनि पारिश्रमिक ज्यादै थाेरै ,पढाइमा खर्च भएकाे ऋण काे ब्यज तिर्न नि हम्मेहम्मे पर्छ । अन्तिमा सम्पुण शैक्षिक प्रमाणपत्रहरू सिरानी मुनि थन्काएर ,झाेला भिरेर अधुरा सपनाहरू बाेक्दै त्रिभुवन बिमानस्थल छिर्नु काे बिकल्प बाहेक अरू देख्दिन । म त उदारण मात्र हु याे लाखाै शिक्षित युवाहरूकाे साझा समस्या हाे । अखिर याे कहिले सम्म ? उत्तर खाेज्न म काहा जाउ ?
नेपालमा सरकारका नीति तथा कार्यक्रममा अत्यन्तै राम्रा कुराहरु तय गरिएको हुन्छ । तर जतिसुकै समृृद्धिको रटान गरे पनि सामन्ती संरचनामा हाम्रो राज्य प्रणाली शासकमुखी, भ्रष्ट, परनिर्भर एवं दलाल एवं नातावाद–क्रिपावादमा आधारित भएकाले हाम्रो समृद्धिको सपना अधुरै रहने खतरा छ । यस्तो भएमा अझै एक पुस्ताले निकै दुःख झेल्नुपर्ने र हामीले केवल राष्ट्र र राष्ट्रियताको चर्का नारा मात्र सुन्दै चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ ।
(लेखक : ब्याचलर इन फार्मेसी बिधार्थी हुन् )




