चितवन। लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति गरेको बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा पहिरोले क्षति पुराएको छ भने नदी तथा खोला किनारका बालीमा बाढी पसेर क्षति पुगेको छ । कतिपय बालीमा आवश्यकताभन्दा बढी पानी जम्न गई बालीलाई क्षति पुगेको ढकालले बताउनुभयो ।
डुवानका कारण भरतपुर महानगरपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, केरा र तरकारी बालीमा क्षति पुगेको छ । महानगरअन्तरगत नारायणी नदी तटीय क्षेत्रमा रहेका वडाका कृषि बालिमा बढी क्षति भएको ढकालले जानकारी दिनुभयो । महानगरका–२६, २७, २८ १६, १८ र १९ मा बढी मात्रामा क्षति पुगेको छ । भर्खर लगाइएको धान बालीमा बाढी पस्दा धानको रोपो नै बगाएको छ भने कतिपय ठाउँमा लामो समय रोपो पानीले पुरिँदा मर्ने र पहेँलो हुने समस्या देखिएको छ ।
यस्तै जिल्लाका कालिका नगरपालिकामा मुख्यरुपमा धान, मकै र केरा खेतीमा वर्षाले क्षति पु¥याएको छ । कालिकाको पदमपुर क्षेत्र केरा खेतीका लागि प्रख्यात छ । केरा खेतीमा पानी जमेका कारण विरुवा मर्ने, ढल्ने समस्या देखिएको ढकालले बताउनुभयो । जिल्लाको पहाडी ईच्छाकामना गाउँपालिकामा कतिपय स्थानमा सानातिना पहिरोले पनि कृषि बालीमा क्षति पुगेको ढकालले बताउनुभयो । विशेष गरी मकै बालीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
ढकालले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाएर राहतका लागि पहल गरिने बताउनुभयो । क्षति भएका ठाउँमा प्राविधिको सिफारिसमा वैकल्पिक खेतीका लागि कृषकलाई आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाली क्षति भएका र बढी पानी जमेका ठाउँमा कुन बाली उपयुक्त हुन्छ, सोही अनुसारको नयाँ बाली लगाउन कृषकलाई सुझाव दिइरहेका छौँ ।”
भरतपुर महानगरपालिका–२८ का वडा अध्यक्ष आशबहादुर कुमालले आफ्नो वडाको ७० विघा हाराहारी जमिनमा लगाइएको बाली एक हप्तादेखि डुवानमा परेको बताउनुभयो । उहाँले भन्नुभयो’, “वर्षा शुरुभएदेखि डुवेको बाली अझै देखिएको छैन । पानीले डुबाएर राखेको छ ।” भण्डारण गरेको धान र मकैमा पानीले क्षति पु¥याएको कुमालले बताउनुभयो ।
भरतपुर २७ का किसान दीपक तामाङले बाढीले आफ्नो सबै धानखेत डुबाएको बताउनुभयो । “भर्खर रोपेको धान त डुबायो डुबायो, तयारी गरेर राखेको मकै र तोरी पनि नोक्सान भयो”, उहाँले भन्नुभयो । चितवनमा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती र सात हजार १०० हेक्टरमा तरकारी खेती हुने गरेको छ ।




