चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भित्रने विभिन्न नाकामा रात्रिकालीन जाँच शुरु गरेका छ । प्रमुख जिल्ला अधिकारीको अगुवाइमा जिल्लामा रहेका सुरक्षा निकाय प्रमुखको सहभागितामा जिल्लाका नाकामा जाँच शुरु गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार रात्रिकालीन जाँच शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, ट्राफिक प्रदेश कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख, कालीबहादुर गण भरतपुरका प्रमुखसहितको टोलीले जिल्ला भित्रने पाँच वटा नाकामा कडाइका साथ राति ९ बजेदेखि जाँच गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुनसक्ने प्रवेशलाई रोक्नका लागि जाँचमा कडाइ गरिएको हो ।” रातको समयमा हिँड्डुल गर्ने, मानिस ओसारपसार गर्ने, रात्रिकालीन जमघटलगायतका कार्यलाई निरुत्साहित गर्नका लागि रातिमा जाँच थालिएको उहाँको भनाइ छ ।
उहाँले थप्नुभयो, “दिनमा बजारको अनुगमन गर्छौं । रातमा सडक र बस्तीको ।” बजारमा अनावश्यक हिँड्डुल गर्नेलाई नियन्त्रण गर्न र व्यवसाय सञ्चालन गर्नेलाई सामाजिक दूरी कायम गराउन दिनमा बजार अनुगमन गरिएको उहाँले बताउनुभयो । कोरोना भाइरस समुदायमा तीव्र गतिमा फैलन सक्ने भन्दै दिवा तथा रात्रिकालीन अनुगमनलाई प्राथमिकतामा राखी काम शुरु गरेको उहाँले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “रातिमा माडी क्षेत्रमा इलाका प्रशासन कार्यालय माडीको अगुवाइमा अनुगमन गरिएको छ भने लोथरदेखि मौवा खोलासम्म र पुलचोकमा प्रजिअ अगुवाइमा अनुमगन थालिएको छ ।
अनुगमनका क्रममा मास्क नलगाइ हिँडडुल गरेको, व्यापार व्यवसाय गर्दा सामाजिक दूरी कायम नगरेको, मास्कको प्रयोग नगरेको, रातिमा मान्छे ओसारपसार गरेको, हिँडडुल गरेको, रात्रिकालीन जमघट गरेको पाइएमा कानूनअनुसार कारवाही गरिने उहाँले जानकारी दिनुभयो । आवश्यकताअनुसार अझै कडाइ गरिँदै लैजाने सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।




