चितवन । चितवनको भरतपुर चौबीसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा कोरोना संक्रमित उपचार सुरु गरेको छ । यही साउन २७ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका ती पुरूषलाई शुक्रबार आएको रिपोर्टले कोरोना संक्रमण पुष्टि गरेपछि हाल सोही अस्पतालको आइसियूमा राखेर उपचार गराइरहेको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले शनिबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सघन कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको जनाएको छ । साउन ३० गते स्वास्थ्य मन्त्रालयबाट प्रकाशित सूचना र निर्देशन अनुसार नै कोरोना संक्रमितको उपचार गर्न लागिएको अस्पतालको भनाइ छ ।
दुईवटै फोक्सोमा ‘भाइरल निमोनिया’ देखिएका भनिएका ती पुरूषको अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ। तर, भेन्टिलेटरको आवश्यकता भने नदेखिएको अस्पतालले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशानुसार कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई सोही अस्पतालमा राख्ने र हब अस्पताल कोरोना संक्रमितको उपचार गर्ने मुख्य अस्पताल सँग समन्वय गरी उपचार गराउनुपर्ने भएकोले हाल पुष्पाञ्जली अस्पतालमै उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ।




