परिचय : पुस्तकालय सभ्य, सुसंस्कृत अनि शिक्षित समाजको अभिन्न अंग हो, भण्डार हो । मानव इतिहास, सभ्यता र संस्कृतिको परिचायक हो । सुचना र ज्ञान विना कुनै पनि व्यक्ति समाज र देशको सफल कार्यको कल्पना हुन सक्दैन । यसलाई पुरा गर्न पुस्तकालयको आवश्यकता पर्दछ ।
संस्कृत भाषाको पुस्तक : आलय शब्दबाट उत्पत्ति भएको शब्दलाई नेपाली भाषामा पुस्तकालय भनिन्छ । पुस्तक र आलयबाट पुस्तकालय बनेको छ । जसको अर्थ पुस्तकहरु संग्रह गर्ने स्थान वा घर भन्ने बुझिन्छ । परम्परागत रुपमा पुस्तकालयलाई पुस्तकहरु संग्रह गर्ने संग्राहलयको रुपमा प्रयोग गरिन्थ्यो । तर समयको विकास संगै यसको अर्थमा पनि केही परिवर्तन हुंदै वर्तमान समयमा पुस्तकालयलाई पुस्तक संग्रह मात्र नभई यसले ज्ञान सुचनाको संग्रह वर्गीकरण, व्यवस्थापन सुरक्षा र वितरण भन्ने जनाउंदछ ।
मानव जातिको उत्पत्ति कालदेखि नै आफूले देखे भोगेका अनुभूत गरेका कल्पना गरेका र प्रमाणित विचारहरुलाई लिपीवद्ध गर्न माटाका चक्कीबाट सुरु गरिएको अभिलेखिकरणको परम्परा क्रमशः ढुंगा, काठ समुद्री विरुवाको बोक्रा, जनावरको छाला, धातु, ताडपत्र, भोजपत्र, कागज हुंदै श्रव्य दृश्य जस्ता विद्युतीय सामाग्री सम्म आइपुगेको छ । जसलाई नै इतिहासको जरो मान्नु पर्दछ ।
प्रसंग राष्ट्रिय पुस्तकालय दिवस :
नेपालमा पुस्तकालयको इतिहास दुई सय वर्ष पुगिसकेको छ । तर पुस्तकालयको प्रयोग र महत्व केही सीमित व्यक्तिहरुमा मात्र सिमित थियो । विस्तारै सार्वजनिक रुपमा पुस्तकालय खोल्दै जाने, शैक्षिक पुस्तकालयको आवश्यकता, महत्व र प्रयोग वढ्दै जान थालेपछि नेपालमा पुस्तकालयको जन्म, विकास सम्बन्धमा पुस्तकालय प्रेमीहरुको चासो बढ्दै जान थाल्यो । ज्ञानको मुहानको रुपमा चिनिने पुस्तकालयलाई सम्मान गर्नुपर्दछ यसको दिवस मनाउनु पर्दछ भन्ने महशुस हुन थाल्यो । यसै क्रममा पुस्तकालय प्रेमी संस्कृतविद, इतिहासविदहरुको बीचमा छलफल भइ पुस्तकालय दिवस मनाउन तर्क सहित प्रत्येक वर्षको भाद्र १५ गतेलाई चयन गर्न सफल भयो ।
भाद्र १५ को सन्दर्भमा वि.सं. १८६९ भाद्र १५ गते तत्कालिन राजा गिर्वाणयुद्ध विरविक्रम शाहदेवले लाल मोहर जारी गरी विधिवत रुपमा पुस्तकालय उद्घाटन गरी पुस्तकालय उद्घाटन गरेको दिन थियो ।
पुस्तकालय दिवस र चितवन :
देशकै मध्ये भागमा रहेको अन्य जिल्ला भन्दा शैक्षिक क्षेत्रमा अग्र स्थानमा रहेको चितवन जिल्ला मेडिकल सिटीको रुपमा चिनिदै आएतापनि पुस्तकालयको विकासको क्षेत्रमा पछि नै परेको महशुस ह्न्छ । चितवनमा साना ठुला गरेर ५० भन्दा बढी पुस्तकालय रहेतापनि खोज र अनुसन्धानको कमीले कुन ठाउंमा कस्ता खालका कुन अवस्थामा छन भन्ने किटानका साथ भन्न सकिदैन ।
व्यक्तिमा पनि पुस्तकालयप्रति रुचि कम हुनु, राज्यले पनि कुनै ध्यान नदिनुले शैक्षिक बाहेक अन्य पुस्तकालयहरु जीर्ण र लोपोन्मुख अवस्थामा छन । यदि यस्ता पुस्तकालयको संरक्षण, जीर्णाेदार विकास गर्न सके लोकतान्त्रिक जननिर्वाचित स्थानीय सरकारले बनाउन खोजेको सभ्य समाजको निर्माणमा टेवा पुरयाउने थियो । र १२ औं राष्ट्रिय पुस्तकालयको नारा “पठन संस्कृतिको पूर्वाधार, पुस्तकालयको विकास र विस्तार” ले मूर्त रुप पाउन सक्ने थियो होला । नेपाल सरकारको शिक्षा मन्त्रालय संघीय मामिला तथा स्थानीय मन्त्रालयले केन्द्रिय स्तरमा पुस्तकालय दिवसलाई महत्व दिए पनि चितवनमा भने खासै चहल पहल देखिदैन ।
पुस्तकालय क्षेत्रप्रति चासो नहुनुमा केही कारणहरु छन जसमा पुस्तकालयमा गएर पढ्ने संस्कृतिको विकास नहुनु, पाठकका रुची अनुसारका अध्यनन सामाग्रीहरुमा कमी हुनु, भइरहेको पुस्तकालय पनि समय अनुसार परिवर्तन वा चल्न नसक्नु, राज्यको ध्यान कमी हुनु र पुस्तकालय सम्बन्धी एक छाता संगठनको अभाव हुनुलाई मान्न सकिन्छ । यदि पुस्तकालयको विकास गर्न सके व्यक्ति, परिवार समाज हुंदै राष्ट्र नै सभ्य बन्न सक्दछ ।
पुस्तकालयको महत्व र समस्याका बारेमा जे जस्ता अवस्था भएपनि चितवन जिल्लामा पनि केही पुस्तकालय पेशाकर्मी संगठित भइ राष्ट्रिय पुस्तकालय दिवस प्रत्येक भाद्र १५ मा मनाउंदै आएका छौं । नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाउने क्रममा चितवनमा पनि निम्न नाराहरु र स्थानहरुमा तपसिल बमोजिम पुस्तकालय दिवस मनाउंदै आएका छौं ।
प्रथम पुस्तकालय दिवस २०६५ “सबैको लागि पुस्तकालय” उक्त दिवस चितवनमा मनाउन असमर्थ । दोस्रो पुस्तकालय दिवस २०६६ “पुस्तकालयको विकास नयां नेपालको निकास” उद्योग वाणिज्य संघ रत्ननगर । तेस्रो पुस्तकालय दिवस २०६७ “सूचना, ज्ञान र सीपका लागि पुस्तकालय” वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल । चौंथो पुस्तकालय दिवस २०६८ “संवृद्द नेपालका लागि पुस्तकालय” स्कुल अफ हेल्थ साइन्स । पांचौ पुस्तकालय दिवस २०६९ “ पुस्तकालय जाऔं, पढ्ने बानीको विकास गरौं ” वीरेन्द्र बहुमुखी क्याम्पस । छैर्ठौ पुस्तकालय दिवस २०७० “एक गाउं एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय” क्स्कुल अफ हेल्थ साइन्स । सातौं पुस्तकालय दिवस २०७१ “पुस्तकालयको विकास, सभ्य समाजको आधार” स्कुल अफ हेल्थ साइन्स । आठौं पुस्तकालय दिवस २०७२ “पुस्तकालयलाई माया गरौं , पुस्तकालयलाई विकास गरौं” ।
वीरेन्द्र बहुमुखी क्याम्पस नवौं पुस्तकालय दिवस २०७३ “ जीवन पर्यन्य शिक्षाका लागि पुस्तकालय” वीरेन्द्र बहुमुखी क्याम्पस । दशौं पुस्तकालय दिवस २०७४ “जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय तह र एक नमुना पुस्तकालय” एघारौं पुस्तकालय दिवस २०७५ “सम्वृद्ध पुस्तकालय सुदृद्ध समाज” बाह्रौं पुस्तकालय दिवस २०७६ लाई “पठन संस्कृतिको पुर्वाधार, पुस्तकालयको विकास र विस्तार” र आज हामी तेहै पुस्तकालय दिवस २०७७ लाई “समाज रुपान्तरणको लागी पुस्तकालय” भन्ने मूल नाराका साथ चितवनमा पनि पुस्तकालय दिवस अर्र्†क्रिया गरि मनाउंदै छौं ।
पुस्तकालय दिवस मनाएर ठूलो उपलब्धी हासिल नगरे पनि कुनै दिन सबै निकाय, संघ संस्थाले साथ दिने छ भनि हामी यसलाई निरन्तरता दिइरहेका छौं । साथै गतवर्ष देखि संघीय मामिला तथा स्थानीय मन्त्रालयले सम्पूर्ण स्थानीय निकायहरुलाई आफु अन्तरगतका शैक्षिक संस्थाहरुमा पुस्तकालय दिवस मनाउन सुचना जारी गरेकोमा सरकारले पनि केही ध्यान पुर्याउन थालेको आभास हुन्छ ।तर यस वर्ष बिश्व सम¬दाय नै कोरोना माहामारीबाट अस्त ब्यस्त बनी सम्पूर्ण बिश्व मानव बिकासको सबै पक्ष माथी बज्रपातपरी मानव बिकासका कार्य र गतिबिधिहरूमा ताला लगाएको अवस्था भएपनि हामी तेहै पुस्तकालय दिवस २०७७ लाई सूचना र प्रबिधिको माघ्यमबाट आ–आफ्ना बन्द कोठामा सिमित भई अन्तर्क्रिया गरि भाद्र १५ मा मनाउंदै छौं ।
चितवनमा वि.सं. २०७० सालदेखि एकनारायण पौडेलको अध्यक्षतामा एक पुस्तकालय कार्य समिति क्रियाशिल छ । अन्तमा सम्पूर्ण पुस्तकालय प्रेमी पाठक वर्गहरुमा २०७७ सालको पुस्तकालय दिवसको उपलक्ष्यमा हार्दिेक मंगलमय शुभकामना ।
(लेखक : चितवन जिल्ला पुस्तकालय संघ जिल्ला तदर्थ समितिका अध्यक्ष हुनुहुन्छ ।)




