काठमाडाैं । एसईई उत्तीर्ण गरी कक्षा ११ अध्ययनको तयारीमा रहेका जेहेन्दार तथा मिहिनेती विद्यार्थीहरुलाई निःशुल्क पढ्ने अवसरसहितको छात्रवृत्ति योजना बी–वान ग्रुप अफ कम्पनीले ल्याएको छ ।
छात्रवृत्ति योजना अन्तर्गत उत्कृष्ट दश जना विद्यार्थी छनौट गरिने कम्पनीका अध्यक्ष त्रिभुवन ढकालले जानकारी दिए । छनौटका भएका दशजनामध्ये सर्वोत्कृष्ट एक जनाले मुलुकको जुनसुकै कलेजमा पनि पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर पाउनेछ । बाँकी नौ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने उनले बताए ।
कोभिड–१९ का कारण मुलुकभर पठनपाठन ठप्प रहेको अवस्थामा कम्पनीले छात्रवृत्ति छनोट योजना–२०७७ ल्याएको हो । संकटको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै जेहेन्दार तथा मिहिनेती विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको अध्यक्ष ढकालले बताए ।
एसईई उत्तीर्ण विद्यार्थीले मात्रै यो योजनामा सहभागि हुन पाउनेछन् । यसका लागि अनलाईनमार्फत फाराम भर्नुपर्ने हुन्छ । फाराम शुल्क भने लाग्दैन । यसरी संकलित फारामका आधारमा उत्कृष्ट विद्यार्थी छनोट गरी १० जनालाई मुलुकभरका जुनसुकै कलेजमा जुनसुकै विषय पढ्न पाउने गरी आंशिक र पूर्ण छात्रवृत्तिको व्यवस्था मिलाइने ढकालले जानकारी दिए ।
उनका अनुसार आगामी असोजमा हुने प्रवेश परीक्षाको आधारमा पहिलो हुने विद्यार्थीलाई मुलुकभर जुनसुकै कलेजमा जुन विषय अध्ययन गर्ने भए पनि पूर्ण रुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने छ भने बाँकी नौ जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराइनेछ ।
आर्थिक अवस्था कमजोर भएका अभिभावक तथा तिनका जेहेनदार बालबालिकाका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । छात्रवृत्ति योजनामा सहभागि हुन असोज ७ गतेसम्म फाराम भर्नुपर्ने जनाइएको छ ।
फाराम भर्नका लागि यो लिंक क्लिीक गर्नुहोला




