काठमाण्डौं, २८ भाद्र – नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताएकी छिन् ।
आइतवार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड १९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान र अनुभव आदान प्रदान विषयक सेमिनार कार्यक्रमका प्रमुख वक्ताका रुपमा बोल्ने क्रममा उनले सो कुरा राखेकी हुन । अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सिर्जित प्रतिकुल अवस्था बारे बताईन् । यस बीचमा आफुले भोगेका अनुभव साथै महिला उद्यमशिलताको क्षेत्रमा परेको असर बारे विस्तृत रुपमा वर्णन समेत गरिन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण विश्व बजार नै प्रभावित बनेको अवस्थामा
यस जटिल परिस्थितीको डटेर सामना गर्नुको विकल्प नभएको उनले उल्लेख गरिन ।
अध्यक्ष श्रेष्ठले प्राय जसो महिला उद्यमीहरु हस्तकलाजन्य उद्योग, व्युटीपार्लर, टेलरिङ, फिटनेश सेन्टर, होम स्टे, नर्सिङ होम आदी संचालन गर्दै आएकामा कोभिड १९ पश्चात् व्यवसायमा पूर्ण रुपमा असर परेको धारणा राखिन ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी श्रेष्ठले नेपालमा गएको छ महिनाको अवधीमा आवश्यक खाद्य सामग्री वाहेकका अन्य क्षेत्रहरु अधिक मात्रामा प्रभावित बनेको बताईन । उनले ९० प्रतिशत व्यवसायिक क्षेत्र ठप्प भएको बताउर्दै लगानीको वातावरण धुमिल भएको, आयतमा कमी आएको, अन्तरराष्ट्रिय बजारमा सामग्रीको माग समेत कम रहेको उल्लेख गरिन । अध्यक्ष श्रेष्ठले यस माझ महिला उद्यमीहरुले आम्दानी नभएता पनि घर भाडा, कर्मचारीलाई तलब, बैंकको ब्याज एवम् ॠण, विद्युत महशुल आदी खर्चको दायित्व वहन गर्नु परेको जिकिर गर्दै राज्यबाट आवश्यक सहयोग पाउन नसकेको स्पष्ट पारिन् ।
देशभर छरिएर रहेका शाखा संजालबाट करिब ५० जनाको सहभागीता रहेको उक्त सेमिनार माझ सहभागीहरुले आ आफ्नो समस्या राख्दै व्यवसायिक वातावरण निर्माणका लागि के गर्न सकिन्छ भनेर अध्यक्ष श्रेष्ठ सामु जिज्ञासा राखेका थिए । कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष श्रेष्ठले व्यापार सहजीकरणका लागि डिजीटल प्लेटफर्मको उपयोग गर्नुपर्ने, आपसी सहकार्यका आधारमा वस्तु एवम् सेवाको बिक्री वितरण गर्न सकिने, व्यवसायिक रुपमा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै वस्तु तथा सेवा प्रवाह गर्न सकिने गरि उपभोक्ता मैत्री र विश्वसनिय वातावरणको आभास दिलाउदै अघि बढनु पर्ने उपाय सुझाएकी थिईन । साथै, अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुले बिना धितो पन्ध्र लाखसम्म ॠण सुविधा उपयोग गर्न पाउने व्यवस्थाको कार्यन्वयनका लागि पहल हुँदै आएको जानकारी गराईन् ।
कार्यक्रमलाई सहजीकरण समेत गरेकी संस्थाकी सचिव लिमा अधिकारीले उप्रान्त नियमित अन्तर्कृयाका कार्यक्रम संचालनको तयारी गरिएको बताईन । यस अघि उनले स्वागत मन्तब्य राख्दै कार्यक्रमले समस्या समाधान गर्न धेरै हद सघाउ पुग्ने धारणा राखेकी थिईन् ।
कार्यक्रम माझ महिला चेम्बरकी सदस्य सोनी जोशीले अध्यक्ष श्रेष्ठको व्यक्तित्व र अनुभव बारे प्रकाश पार्दै वेमिनार फलदायी हुने विश्वास व्यक्त गरेकी थिईन ।
सो अवसरमा महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई सामना गर्न आपसी समन्वयले ठुलो महत्व राख्ने बताएकी थिईन ।
कार्यक्रममा महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्टि त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।




