चितवन। भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
चितवनकाे कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आइतवार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार मृतक पुरूष भदौ २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका थिए ।
उनमा भदाै ३ गते मात्रै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ती पुरूषलाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे । मृतक ती पुरूषमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।
याे समेत गरी जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १८ जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा १० जना भरतपुर महानगरपालिका भित्रका छन् । त्यसैगरि कालिका नगरपालिकामा संक्रमितकाे मृत्यु भएकाे याे नै पहिलो घटना हाे । जिल्लाका इच्छाकामना गाउँपालिका र माडीमा अहिलेसम्म संक्रमितकाे मृत्यु भएकाे छैन ।




